समाज


गाई मृत्यु प्रकरणः नेपालगञ्ज उपमहानगरको लापरवाही, सात जना पक्राउ

गाई मृत्यु प्रकरणः नेपालगञ्ज उपमहानगरको लापरवाही, सात जना पक्राउ

नारायण ढुंगाना
भदौ १३, २०७६ शुक्रबार १५:३०,

छाडा पशु चौपायाको व्यवस्थापनमा नेपालगञ्ज उपमहानगरपालिकाले चरम लापरवाही गरेका कारण सुर्खेतमा दर्जनौँ गाई र गोरु मरेका हुन्। छाडा गाई र गोरुको उचित व्यवस्थापन गर्न नसक्दा दैलेख पठाउन लागिएका २५ गाई र गोरु बाटोमै मरेका पाइएको छ।

बाँकेको नेपालगञ्जस्थित काञ्जीहाउसबाट ल्याइएका २९१ गाई र गोरुमध्ये २५ गाई र गोरु वीरेन्द्रनगरको कटकुवा जङ्गलमा आज मृत भेटिएका थिए। कतिपय गाई र गोरु भिरमा तथा केही सडक छेउछाउमा मृत फेला परेका थिए। स्थानीयवासीले भने गाई र गोरुलाई भिरबाट लडाएर मारेको आरोप लगाएका छन्। उनीहरुले दोषीमाथि कडा कारवाहीको माग गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार नेपालगञ्ज बजारमा छाडा रहेका गाई र गोरुलाई दैलेखको धार्मिक क्षेत्र श्रीस्थानमा छाड्नका लागि लैजाने क्रममा बाटोमा घटना भएको जानकारी दिए। ‘नेपालगञ्ज उपमहानगरपालिकाको गाई र गोरु व्यवस्थापनमा लापरवाही देखिन्छ, गाई र गोरुलाई बीच जङ्गलमा छाडिएको छ, हामीले कानूनी कारवाही प्रक्रिया शुरु गरेका छौँ’, उनले भने।

सात जना पक्राउ

गाई र गोरु मृत्यु घटनाबारे अनुसन्धान गर्न सात जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रावलले बताए। ‘चार ट्रक नियन्त्रणमा लिएका छौँ, अनुसन्धानपछि मात्रै सबै कुरा खुल्छ’, उनले भने। रावलले मुलुकी अपराधसंहिताअन्तर्गत पशुपक्षीसम्बन्धी कसुरमा दोषीलाई कारवाही गरिने राससलाई जानकारी दिए। मुलुकी अपराधसंहिताको उक्त कसुरअन्तर्गत दफा २८९ को उपदफा १ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पु-याउने नियतले कुनै काम गर्न नहुने उल्लेख छ। उपदफा २ अनुसार गाई र गोरु मारेमा तीन वर्ष कैदको व्यवस्था छ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकारी उत्तम शर्माका अनुसार अहिलेसम्म वीरेन्द्रनगर नगरपालिका–१४ स्थित गढीको भिरमा १७ गाई र गोरु मृत फेला परेका छन्। सुर्खेतको सुब्बाकुनामा आठ गाई र गोरु मृत तथा तीन गाई र गोरु घाइते फेला परेका छन्। उनले गाई, गोरु र बाच्छा गरी १३० घाइते फेला परेको जानकारी दिए। अहिले वीरेन्द्रनगर नगरपालिकाले घाइते गाई, गोरु र बाच्छाको उपचार थालेको छ। मृत भेटिएका गाई र गोरुको मुचुल्का उठाई शवपरीक्षण गरी जङ्गलमा गाड्न थालेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले जानकारी दिए।

यसरी पठाइएको थियो गाई र गोरु

नेपालगञ्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरदकुमार पौडेलले बिहीबार दैलेखको श्रीस्थानमा छाड्नका लागि गाई र गोरु लगिएको जानकारी दिए। ‘गाई र गोरुसँगै नगरप्रहरीको टोलीसमेत पठाएका थियौँ, बीच बीचमा कोही व्यक्तिले गाई र गोरु लिन चाहेमा उनीहरुलाई बाँड्दै जाने गरी पठाएका थियोँ’, पौडेलले भने।

आठ ट्रकमा २९१ गाई र गोरु नेपालगञ्जबाट पठाइएको उनले बताए। ‘नेपालगञ्जको काञ्जीहाउस सानो भएकाले नअटेर जिल्ला प्रशासन कार्यालय बाँकेसँगको समन्वयमा गाई र गोरु पठाएका हौँ’, पौडेलले भने। अझै सडकमा सयौँ छाडा गाईवस्तु रहेको र तिमध्ये धेरैजसो भारतीय क्षेत्रबाट आएको उनले बताए।

‘बीच बाटोमै मरेपछि चालकले ट्रकबाट गाई झारेको जानकारी पाएका छौँ’, पौडेलले भने। उनले गाई र गोरु भिरबाट खसालेको भन्ने आरोप सत्य नभएको बताए। घाइते गाई र गोरु बाटोमा छाडेपछि यताउति गएर मरेको हुनसक्ने प्रहरीको अनुमान छ। ‘भिरमा मरेको अवस्थामा कसरी गाई र गोरु पुगे, यसबारे अनुसन्धान भइरहेको छ’, रावलले भने। घटना सार्वजनिक भएपछि शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राइले आज विज्ञप्ति जारी गर्दै दोषीलाई कानूनी कारवाहीको माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .