समाज


आत्महत्यालाई कसरी निरुत्साहित गर्ने?

आत्महत्यालाई कसरी निरुत्साहित गर्ने?

नारायणी रजौरे
भदौ ८, २०७६ आइतबार ६:५४,

गत साउन २० गते दाङ जिल्लाका विभिन्न स्थानमा तीन जनाले आत्महत्या गरेको समाचार प्रहरीले दियो। ती तीन घटनामध्ये एउटा तुलसीपुर उपमहानगरपालिका–९ मा र अर्को वडा नं १९ बिजौरीमा थियो। अनि अर्को घटना भएको थियो राजपुर गाउँपालिका–६ गंगदीमा।

आत्महत्या गर्ने ती तीनले एकै किसिमको विष सेवन गरेको पत्ता लागेको थियो। सो जानकारी उनीहरुको शव परीक्षण रिपोर्टबाट खुलेको थियो। तुलसीपुर–९ मा ३७ वर्षीय मानबहादुर विक, बिजौरीकी ५० वर्षीया बमकुमारी विक र गंगदीकी थारू समुदायकी एक २१ वर्षीया युवतीले विष सेवन गरेर आत्महत्या गरेका थिए।

उनीहरु तीनै जनाको उपचारका क्रममा मृत्यु भएको थियो। उनीहरुले दिउँसोको समयमा विष सेवन गरेको परिवारले जनाएका छन्। विष सेवन गरेको थाहा पाएपछि अस्पताल पु¥याइएको भए पनि उनीहरुलाई बचाउन नसकिएको चिकित्सकको भनाइ छ। तर, उनीहरुले किन विष सेवन गर्नुपरेको हो भन्ने बारेमा भने केही खुलेको छैन। प्रहरीले यस विषयमा गहन अध्ययन शुरु गरेको जनाएको छ तर कारण भने पत्ता लागिसकेको छैन।

त्यसको तीन दिनपछि अर्थात् साउन २३ गते पनि तुलसीपुर उपमहानगरपालिका–१२ क्वाङीकी १२ वर्षीया चौधरी समुदायकी एक बालिकाले पनि विष सेवन गरेर आत्महत्या गरेको खबर आयो। उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पतालमा ल्याइयो तर बचाउन सकिएन।

यी तीन दिनभित्रका आत्महत्याका चार घटना उदाहरण मात्र हुन्। दाङ जिल्लामा प्रायः तीनदेखि चार दिनसम्ममा यस्ता दुर्घटनाको समाचार आउने गरेको छ, जुन अत्यन्तै दुःखद् छ। दाङमा गएको वर्ष दिनयता मात्र ९५७ आपराधिक घटना घटेका छन्। तीमध्ये सबैभन्दा बढी २०९ आत्महत्याका घटना रहेको दाङ प्रहरीको तथ्यांकमा उल्लेख छ।

तीमध्ये १३२ झुण्डिएर, ७७ विष सेवन गरेर रहेका छन्। तीमध्ये १११ पुरुष, ९८ महिलाले आफैँले आफैँलाई हत्या गरेका छन्। यसमा बालबालिकाको संख्या १६ रहेको दाङ प्रहरी प्रमुख बेलबहादुर पाण्डेले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ। आत्महत्या गर्नेहरुमध्ये सबैभन्दा बढी जनजाति समुदायका ७४, दलित ५६, क्षेत्री ३७, ब्राम्हण ३०, मुस्लिम १२ रहेको पनि प्रहरीको सो तथ्यांकमा उल्लेख छ। आत्महत्या गर्नेमध्ये धेरैजसो विवाहितको रहृको देखिन्छ । तथ्यांकले १८९ विवाहित व्यक्तिले आत्महत्या गरेको देखाएको छ। त्यसैगरी २० अविवाहित छन्।

आत्महत्या गर्नुको कारणमा सबैभन्दा धेरै गरिबीको कारण देखिएको प्रहरीले जनाएको छ। गएको वर्षको तथ्यांकमा ९७ ले गरिबीका कारण आत्महत्या गरेको अनुमान गरिएको छ। त्यसैगरी ४८ मानसिक असन्तुलन, १८ प्रेममा असफल, ११ घरेलु हिंसाका कारण रहेको सो तथ्यांकमा जनाइएको छ। पछिल्लो पाँच वर्षको अवधिमा जिल्लामा ८२९ को अकालमा मृत्यु भएको तथ्यांक दाङ प्रहरीले सार्वजनिक गरेको छ। सो तथ्यांकअनुसार दाङ जिल्लामा आत्महत्यासम्बन्धी विसं २०७२ साउनदेखि २०७६ असारसम्मको तथ्यांक हेर्दा ८२९ को अकालमै मृत्यु भएको देखिन्छ।

यसरी ज्यान जानेमा ४९.५२ प्रतिशत पुरुष र ४६.९३ प्रतिशत महिला छन्। उक्त संख्यामा सबैभन्दा बढी ६३.०६ प्रतिशतले झुन्डिएर आत्महत्या गरेका छन्। यसपछि विष सेवन गरेर आत्महत्या गर्ने ३६।१३ प्रतिशत सङ्ख्या छ । आफैँलाई आगो लगाएर, हााफालेर र आफैँलाई गोली हानेर आत्महत्या गरेका समेत घटना भएको पाइन्छ।

 हरेक वर्ष आत्महत्याका घटनाहरु बढनु ज्यादै नै दुःखदायी अवस्था हो भन्दै जिल्लामा बढ्दो आत्महत्याका घटनालाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनी यहाँका नागरिकहरुले चासो र चिन्तासमेत व्यक्त गरेका छन्।

व्यक्तिको उच्च महत्वकांक्षा र विभिन्न कारणले तनाव हुने र त्यसपछि ‘डिप्रेसन’ भएका कारण पनि धेरैजसोले आत्महत्या गर्ने गरेको बताउछिन् सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य निरा योगी। उनी भन्छिन, ‘सबैको सामूहिक प्रयासले गाउँ तहसम्म विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर आत्महत्या गर्नु हुँदैन भन्ने खालका कार्यक्रम गर्नुपर्छ।’

पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोखरेल जीवनलाई नबुझ्दा, प्रविधिको दुरुपयोग, चेतना अभाव, मानिसका उच्च महत्वकाक्षाका कारण यस्ता घटनामा वृद्धि भएको र यी घटनालाई निरुत्साहित गरी समाजमा सकारात्मक सोचको विकास गर्ने कार्यक्रम आवश्यक रहेको विचार राख्छन्। दाङमा आत्महत्याका घटना बढेकामा चिन्ता व्यक्त गर्दै उनले यसमा सञ्चारमाध्ययमले जनचेतनामूलक कार्यक्रम प्रकाशन प्रसारण गर्नुपर्ने सुझाब दिए।

‘आत्महत्या आफैँले आफैँलाई हत्या गर्नु हो, यसमा विभिन्न कारण छन् र त्यसमा पनि प्रमुख कारण ‘डिप्रेसन’ नै हो’, डा किशोर खत्रीले भने। उनी यस्ता व्यक्तिलाई समयमै उपचार र जीवनबारे बुझाउन सकिएमा आत्महत्याका घटनामा कमी आउने बताउछन्।

आत्महत्या न्यूनीकरण गर्न सचेतना कार्यक्रम विभिन्न विद्यालय, गाउँ–टोलमा लैजान सबैकोे सहयोग आवश्यक रहेको तुलसीपुर उपमहानगरपालिका–५ का वडासदस्य सावित्रा गुरुङ बताउछिन्। उनले आत्महत्या विभिन्न कारणले हुने गरेको भन्दै अब कारण पहिचान गरी यसलाई निरुत्साहित गर्नेतर्फ सबै लाग्नुपर्ने र वडास्तरबाटै जनचेतनामूलक कार्यक्रम गर्ने कार्ययोजना बनाइरहेको उनी बताउछिन्।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले आत्महत्या विभिन्न कारणबाट हुने गरेको भन्दै आत्महत्या न्यूनीकरण गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए। उनले आत्महत्यालाई निरुत्साहित गर्न मनोसामाजिक परामर्श गर्नुपर्ने बताउछन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले गरिबी, कमजोर मानसिकता, चिन्ता, भय र उच्च महत्वकांक्षा व्यक्तिमा भएका कारण त्यो पूरा नहुँदा निराशा भएर आत्महत्या हुने गरेको अनुसन्धानले देखाएको बताउछन्।

उनले जिल्लामा अन्य अपराधका तुलनामा आत्महत्याका घटना बढिरहेको भन्दै अब यसलाई नियन्त्रण गर्न जिल्लाका विभिन्न बस्ती तथा टोलमा नागरिकहरुकै सहकार्यमा सचेतना कार्यक्रम गर्ने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad