ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को केन्द्रीय कार्यकारिणी समितिका सबै पदको निर्वाचन आगामी २० गते हुने भएको छ। यसका लागि टानले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरेको छ।
२० गते हुने निर्वाचनमा केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र नौ जना सदस्य (एक महिलासहित) पदमा नयाँ पदाधिकारी चयन हुनेछन्।
यस्तो छ कार्यतालिका
निर्वाचनका लागि आगामी १४ गते ११ बजे मतदाता नामावली प्रकाशत, १५ गते ३ बजेसम्म नामावलीमा दावीविरोध गर्न पाइनेछ। त्यसपछि सोही दिन बेलुकी ५ बजे अन्तिम नामावली प्रकाशन गरिने टानले जनाएको छ। त्यस्तै उम्मेदवारले दरखास्त दिने १६ गते बिहान १० देखि २ बजेसम्म समय छुट्याइएको टानको भनाइ छ। त्यस्तै दरखास्तसँगै अध्यक्षले ६० हजार, पदाधिकारीले ४० हजार र सदस्यहरुले २५ हजार नगद दाखिला गर्नुपर्ने टानले जनाएको छ।

१६ गते उम्मेदवारको नामावली प्रकाशन, १७ गते १ बजेसम्म दावीविरोध, ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय र सोही दिन ५ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिने टानले जनाएको छ। २० गते सोल्टी होटलमा १ बजेदेखि ५ बजेसम्म मतदान हुनेछ। निर्विरोध निर्वाचित भए शीघ्र घोषणा गरिने जनाइएको छ।
यस्तो छ योग्यता
ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को सदस्य एजेन्सीको सञ्चालक समितिमा रहेका व्यक्तिले मात्र संघको निर्वाचनमा मतदानमा भाग लिन वा उम्मेदवार हुनको लागि योग्य हुनेछन्। साथै एउटा वार्षिक साधारण सभामा भाग लिएको सदस्यले मात्र उम्मेदवार हुन पाउने बताइएको छ। टानका ६ महिना नाघेका सदस्यले निर्वाचनमा मतदान गर्न पाउनेछन् भने १८ गतेसम्म चुनाव प्रचार गर्न दिइएको टानको भनाइ छ। १९ गतेदेखि मौनअवधि तोकिएको छ।
Shares

प्रतिक्रिया