समाज


तिहारसम्म कुर्था-जयनगर रेल सञ्चालन हुने

तिहारसम्म कुर्था-जयनगर रेल सञ्चालन हुने

सञ्चिता घिमिरे
भदौ ७, २०७६ शनिबार २:३९,

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल तिहारसम्ममा सञ्चालन गर्न सरकारले रेलवे कम्पनीलाई ब्युँताउने भएको छ।

कम्पनीमा दक्ष प्राविधिकसहित झण्डै दुई सय कर्मचारीको प्रस्ताव गरिएको रेल विभागले जनाएको छ।

हालको रेलवे कम्पनी नाम मात्रैको भएको विभागका महानिर्देशक बलराम मिश्रले बताए। कम्पनीमा हाल न्यून जनशक्ति छन्।

ती पनि रेलसम्बन्धी ज्ञान र क्षमता भएका व्यक्ति नभएको महानिर्देशक मिश्रको भनाइ छ। रेल सञ्चालन गर्न कम्पनीलाई बलियो बनाउने काम भइरहेको छ। उनले भने, “सरकार आफैँले गर्दा खातालगायतका समस्या आउने हुँदा कम्पनीमार्फत सञ्चालनको तयारी गरिरहेका छौँ।”

कम्पनी चलाउन दुई सयभन्दा धेरै जनशक्ति आवश्यक पर्छ । एक प्रमुख, सञ्चालन, मर्मतलजस्ता काममा प्राविधिक, प्रशासन, लेखालगायतका कर्मचारी आवश्यक भएकोले विभागले कर्मचारी माग गरेको हो।

मुलुकमा रेलसम्बन्धी छुट्टै नियम छैन । पहिले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अन्तर्गत नै यो सञ्चालन भएकोमा अहिले रेल सञ्चालनको छुट्टै विनियमावली बनिरहेको छ। मिश्रले भने, “रेल सेट आउँदै गर्दा हामीले विनियमावली र सङ्गठन संरचना बनाउने काम अघि बढाएका छौँ।”

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन रेल कात्तिकसम्ममा सञ्चालन गर्ने लक्ष्य रहेको विभागले जनाएको छ। सरकारले भारत सरकारसँग दुई रेल सेट खरीद प्रक्रिया गत वर्ष अघि बढाएको थियो।

विभागका प्रवक्ता अमन चित्रकारले दुई महीनाभित्रमा रेल नेपाल आइपुग्ने बताए। पहिलोचरणमा एउटा सेट मात्र आउनेछ।

भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल खरीद गर्न लागिएको हो। डिजेल, इलेक्ट्रिक, मल्टिपल युनिट प्रविधिको सो सेटमा एउटामा पाँच डिब्बा रहने छन्।

दुई सेट खरीद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन् । यसको क्षमता एक हजार २०० सम्म यात्रु बोक्नेछ । प्रवक्त चित्रकारले भने, “अहिलेको क्षमताभन्दा एक÷दुई सय तलमाथि हुनसक्छ।”

भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेको छ । रेल लाइन तथा रेल्वे स्टेशन तयार भइसकेको मिश्रले बताए।

यसमा कुर्थाबाट बिजलपुरा खण्ड १७ किलोमिटरसहित ५२ किलोमिटर आगामी फागुनसम्म सम्पन्न हुने र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुने मन्त्रालयले जनाएको छ।

गत महीनाको निरन्तर वर्षाका कारण कमला नदीको तटबन्ध बगाउँदा रेलमार्गमा क्षति पुगेको थियो । क्षति पुगेका ठाउँमा निर्माण कम्पनीले केही समयमा नै काम गरिसक्ने जनाइएको छ । प्रवक्ता चित्रकारले भने, “हस्तान्तरण भइनसकेकाले भारतीय कम्पनीले नै काम गर्नेछ।”

जनकपुर–कुर्था रेलमार्ग निर्माणका लागि भारत सरकासँग सन् २०१० मा सम्झौता भएको झण्डै एकवर्षपछि काम शुरु भएको थियो । भारतको सहयोगमा सीमाक्षेत्रमा पाँच स्थानमा रेलमार्ग निर्माण हुनलागेको चित्रकारले जानकारी दिए।

तीमध्ये जयनगर–कुर्था र विराटनगर–जोगबनीबाहेक अरु तीन स्थानमा निर्माणको काम शुरु हुनसकेको छैन। रेलमार्गतर्फ नै विराटनगरबाट बथनाहासम्म १८ किलोमिटर रेलमार्गमा १० किलोमिटरको काम सम्पन्न भएको भौतिक योजना तथा यातायात मन्त्रालयले जनाएको छ। १० किलोमिटर रेलमार्ग सञ्चालनका लागि तयार भइसकेको छ।

सीमाक्षेत्रमा निर्माण गर्ने भनिएको अरु तीन रेलमार्गमा जलपाइगुडी–काकडभिट्टा, नौतनहवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगञ्ज रहेका छन्। यी सबै रेलमार्ग भारत सरकारले नै निर्माण गर्ने गरी सम्झौता भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad