पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–३ फिस्लीङमा ट्रक र ट्याक्सी एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चार जना घाइते भएका छन्। मृत्यु हुनेमा काभ्रे बनेपा नगरपालिका–१० वस्ने ६४ वर्षीया राधिकादेवी वराल रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको ट्रकले काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ट्याक्सीलाई ठक्कर दिएको थियो। एच आर ५८ ए ८१०२ नम्बरको ट्रकले बा२ज २५४ नम्बरको ट्याक्सीलाई आज दिउँसो ठक्कर दिएको थियो। वरालको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा साँझ मृत्यु भएको हो।
घाइते हुनेमा सोही स्थानका ३९ वर्षीय नारायण वराल, ६४ वर्षीया सीतादेवी अधिकारी, ३९ वर्षीया चन्द्रकला अधिकारी र ७२ वर्षीय बाबुराम अधिकारी रहेको प्रहरीले जनाएको छ। तीमध्ये सीतादेवीको अवस्था गम्भीर रहेको छ। ठक्कर खाने दुवै सवारी साधन र ट्रकका चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया