म्याग्दीको बेनी नगरपालिका-५ बगुवाखोलास्थित बालजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्कीलाई बेपत्ता बनाएको घटनामा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ।
यही असार ६ गते कार्की बेपत्ता छन्। उनलाई बनाउने घटनामा संलग्न भएको आरोपमा बेनी–६ का ३१ वर्षीय सञ्जय बानियाँलाई पक्राउपछि बुधबार जिल्ला प्रहरी कार्यालय म्याग्दीले सार्वजनिक गरेको हो।
असार ७ गते कुश्माबाट पक्राउ परेका बानियाँले व्यक्तिगत रिसइबी साँध्न प्रअ कार्कीलाई कुटपिटपछि म्याग्दी नदीमा बगाएको बयान दिएका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए। ‘आरोपीले अचेत अवस्थामै म्याग्दी नदीमा बगाइदिएको प्रारम्भिक बयान दिएका छन’, उनले भने, ‘खोलामा बगाइएका कार्कीको शव भेटिएको छैन।’
यो पनि विद्यालयबाट घर हिँडेका प्रधानाध्यापक बाटैमा बेपत्ता, खोला किनारमा रगतको दागसँगै कपडा र मोवाइल भेटियो
आरोपी बाँनियाँकी श्रीमती विद्यालयमा रहेको बौद्धिक अपाङ्गता स्रोतकक्षाकी कर्मचारी हुन्।
विद्यालयकै छात्रावासमा श्रीमतीसँगै बाँनियासमेत बस्दै आएका थिए। बेपत्ता कार्की र आरोपी बानियाबीच यसअघि विवाद थियो।
करिब पाँच वर्ष मलेशिया र केही वर्ष भारतमा रोजगारी गरी केही महिनाअघि घर आएका बाँनियामाथि अनुसन्धान गर्न प्रहरीले बुधबार म्याग्दी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेको छ।
प्रहरीले घटनाको थप प्रमाण जुटाएर हत्या गरी बेपत्ता बनाएको कसुरमा मुद्दा चलाउने जनाएको छ । कार्कीमाथि आक्रमण भएको ठाउँमा रगत भेटिएको थियो । केही तल म्याग्दी नदी किनारमा कार्कीले लगाउने हाफ ज्याकेट, चप्पल र मोबाइल सेट भेटिएको थियो। रासस

प्रतिक्रिया