‘युरोकपमा मेरो रोजाइ टर्की हो। तर धेरै मानिसहरू उसले राम्राे खेल्न सक्दैन भन्ने साेचिरहेका छन्। तर टर्कीको टोली राम्रो छ र युरोकपका लागि तयार पनि।’
बीबीसीका युरोकप पण्डित आस्ले विलियम्स अहिले आफूले प्रतियाेगिताअघि गरेको यो भविष्यवाणी सुधार्न चाहन्छन्।
वेल्सका पूर्वडिफेन्डर विलियम्स मात्रै त्यस्तो एक्लो पात्र होइनन्, जसले सेनोल गन्सको टोलीले डार्कहर्सका रुपमा राम्रो प्रदर्शनमात्रै गर्दैन बरू प्रतियोगितामा धेरै अघिसम्म बढ्छ भन्ने सोच्थे।
तर प्रतियोगितामा चाहिँ होइन, टर्कीले अहिले घरतर्फको यात्राचाहिँ सुरु गरिसकेकाे छ। युरोकपकै खराबमध्येको एक प्रदर्शन गरेर।
आइतबार राति स्विट्जरल्याण्डसँग ३–१ ले पराजित भएसँगै टर्कीले युरो इतिहासकै पाँचौँ सबैभन्दा खराब प्रदर्शन गर्यो।
त्यसअघि समूहका दुई खेलमा टर्की इटालीसँग ३–० र वेल्ससँग २–० अन्तरले पराजित भएको थियो।
उनीहरुले टर्कीलाई हराएकामात्रै थिएनन्, धूलो नै चटाएका थिए।
इटालीले उसकै आत्मघाती गोलबाट सुरुवाती अग्रता लिएर शानदार जित निकाल्दा वेल्सले टर्कीलाई खेलमा बाँधिरह्यो, खुल्नै दिएन। स्विट्जरल्यान्डसँग एकचोटि प्रतिस्पर्धा देखिए पनि अन्ततः टर्कीमाथि उसले कडा मुक्का प्रहार गर्दै स्तब्ध पार्यो।
वास्तवमा टर्कीका लागि यो सिजन कति खराब रह्यो त?
युरोपियन च्याम्पियनसिपको इतिहासमा अहिलेसम्म ११ टोलीले समूह चरणमा कुनै पनि अंक जोड्न असफल भएका छन्। त्यही सूचीमा टर्कीको यस सिजनको प्रदर्शन पाँचौँ खराब हो।
सबैभन्दा खराब प्रदर्शन डेनमार्कले सन् २००० मा गरेको थियो। त्यसपछि बुल्गेरिया, रिपब्लिक अफ आयरल्याण्ड, युगाेस्लाभियापछि युरोकपमा खराब प्रदर्शन गर्ने देशमा टर्की पनि जोडिएको छ।
प्रशिक्षक गन्सले खराब प्रदर्शनको जिम्मेवारी आफ्नो काँधमा लिएका छन्। साथसाथै उनले यसमा अन्य कारक तत्वले पनि भूमिका खेलेको बताएका छन्।
‘म यसको जिम्मेवारी लिन्छु,’ उनी भन्छन्, ‘यसमा खेलाडी र व्यक्तिगत प्रदर्शनी पनि जिम्मेवार छ। प्रतियोगिताअघि हामीले फाइनल पुग्ने अपेक्षा राखेका थियौँ। तर जुन हिसाबको हाम्रो प्रदर्शन भयो यस्तो प्रतियोगितामा त्यो अस्वीकार्य छ।’
प्रतियोगितामा टर्कीको अन्त्य यसरी हुन्छ कसैले सोचेकै थिएन।
टर्कीले यस प्रतियोगितामा डार्कहर्सको रुपमा आफ्नो परिचय स्थापित गरेको थियो। त्यसका पछाडिको कारण थियो, छनोटमा उसको प्रभावशाली प्रदर्शन, अनुभवी र प्रतिभावान खेलाडी र बाकुमा दुई खेल, जहाँ उनीहरुलाई ठूलो समर्थकको साथ हुने गर्छ।
सन् २०२० कोभिडबाट प्रभावित बनेपछि एक वर्षपछि प्रतियोगिता धकेलिनु टर्कीको ‘डिजास्टर’को एक कारण बन्यो।
छनोटमा १० खेल खेल्दा टर्कीले ७ खेल जितेको थियो। २ खेलमा बराबरी गरेको उसले एक खेलमात्रै हारेको थियो। होम एण्ड अवेका आधारमा भएको खेलमा टर्कीले होम खेलमा तत्कालिन विश्वविजेता फ्रान्सलाई २–० ले पराजित गर्नुका साथै फ्रान्सलाई उसैको मैदानमा १–१ को बराबरीमा रोक्दै सनसनी मच्चाएको थियो।
छनोटका १० खेलमा टर्कीले जम्मा ३ गोल व्यहोर्यो। कसैले पनि सजिलै टर्कीविरुद्ध गोल गर्नसकेका थिएनन्। तर यसपटक भने स्थिति ठीक उल्टो देखिएको छ। उसले अरुको पोस्टमा एक गोलमात्रै गर्न सक्यो। जसको कुनै अर्थ रहेन।
पछिल्लो प्रतियोगितामा उनीहरुले मुख्य गरी घरेलु प्रतियोगितामा आधारित खेलाडीहरुलाई टोलीमा समेटेका थिए। तर पछिल्लो समयमा उनीहरुको टोलीमा आधाभन्दा बढी खेलाडी युरोपको शीर्ष लिग खेलेका खेलाडीहरु थिए।
प्रशिक्षकको पहिलो रोजाइमा परेका खेलाडीमा अनुभवको कमी पनि देखियो। चार जना खेलाडीले गत मेमा मात्रै टोलीमा डेब्यु गरेका थिए। छनोटका सर्वाधिक स्कोरर स्ट्राइकर सिंक टोसुनको चोट पनि टर्कीलाई महँगो साबित भयो।
तर पनि प्रशिक्षक गन्स एउटा कुरामा आशावादी देखिन्छन्।
‘यो हाम्रो ठूलो परीक्षा थियो। कहिलेकाहीँ विफलताले सफलताको भन्दा धेरै अनुभव सिकाउँछ’, उनी भन्छन्।
डिफेन्डर मेरिह डेमिरल पनि आशावादी कुरा दोहोर्याउँछन।
उनी भन्छन्, ‘जब आशा धेरै हुन्छ, त्यो पूरा भएन भने निराशा पनि त्यति नै ठूलो हुन्छ। हामी भविष्यमा अरु प्रतियोगिता खेल्नेछौँ र हामी के चीज हो भनेर देखाउनेछौँ।’
Shares

प्रतिक्रिया