ad ad

समाज


जातीय विभेद गर्ने घरबेटीविरुद्ध उजुरी दिएकी सुनार भन्छिन्ः सबैको साथले हौसला मिलेको छ

जातीय विभेद गर्ने घरबेटीविरुद्ध उजुरी दिएकी सुनार भन्छिन्ः सबैको साथले हौसला मिलेको छ

नेपालखबर
असार ४, २०७८ शुक्रबार ६:१०,

काठमाडौंको बबरमहलमा कोठा खोज्ने क्रममा जातीय अपमान गर्ने घरबेटीविरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएकी सञ्चारकर्मी रूपा सुनारले आफूलाई आर्थिक सहयोग होइन, बरु नैतिक समर्थन र साथ दिइरहन आग्रह गरेकी छन्।

कतिपय साथीले मुद्दा अगाडि बढाउन आफूलाई आर्थिक सहयोग दिन तयार रहेको भनेर सुझाव आइरहेको उल्लेख गर्दै सुनारले आफूलाई त्यस्तो सहयोगको आवश्यकता नरहेको बताएकी हुन्।

न्यायप्रेमी सबैबाट प्राप्त भइरहेका भावनात्मक, भौतिक तथा नैतिक साथ, सहयोगले आफूलाई हौसला मिलिरहेको पनि उनले बताएकी छन्।

तनहुँ घर भएकी सुनार इमेज टेलिभिजनमा उकाली–ओराली कार्यक्रम चलाउँछिन्।

हाल बबरमहलमा भाडाको कोठामा बसिरहेकी उनी गत मंगलबार बबरमहलकै अर्कै घरमा कोठा हेर्न जाँदा भाडामा बस्ने र दिने सहमति भइसकेको अवस्थामा अन्त्यमा घरबेटी सरस्वती प्रधानले जात सोधेको र आफूले यथार्थ (कामीकी छोरी हुँ) बताउँदा दिन नमिल्ने भनेको सुनारले बताएकी छन्।

उनको भनाइ यस्तो छ :

ममाथि भएको जातीय विभेदको घटनालाई कानुनी रूपमा अगाडि बढाउने क्रममा म आबद्ध भएको लगायत अन्य संघ/संगठन, देश-विदेशमा रहनुभएका न्यायप्रेमी व्यक्तिहरूले चासो, सुझाव र साथ दिइरहनुभएकोमा मेरो आत्मबल बढेको छ। म सबैप्रति आभारी छु।

यसै क्रममा केही साथीहरूले कानुनी रूपमा अघि बढ्नका लागि आर्थिक सहयोग गर्छु भनेर पनि फोन, म्यासेज गरिरहनुभएको छ। उहाँहरूको यो साथले कानुनी लडाइँ लड्नका लागि झनै हौसला मिलेको छ।

तर यो घटनामा हामीलाई आर्थिक सहयोगको आवश्यकता नपरेको जानकारी गराउँदै यो मुद्दाका निम्ति आर्थिक सहयोग नदिन र नलिन पनि अनुरोध गर्दछु। बरु नैतिक साथ सहयोग यसैगरी दिइरहनहुन अनुरोध गर्दछु। धन्यवाद!

विस्तृत विवरण : जात थाहा पाएपछि कोठा नदिने घरबेटीविरुद्ध रूपा सुनारले दिइन् उजुरी (निवेदनसहित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .