समाज


झोलुंगे पुल निर्माण गर्न दैनिक आठ घण्टा सडक बन्द

झोलुंगे पुल निर्माण गर्न दैनिक आठ घण्टा सडक बन्द

नेपालखबर
भदौ ४, २०७६ बुधबार ६:४१,

 बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गर्न लागिएको झोलुंगे पुलको सहायक जग निर्माण गर्न दैनिक साढे आठ घण्टा सडक बन्द गरिने भएको छ।

जिल्लाको बागलुङ नगरपालिका–१ बांगेचौरदेखि पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने नेपालकै लामो झोलुंगे पुल निर्माण गर्न दैनिक साढे आठ घण्टा पर्वत–बेनी–मुस्ताङ सडकखण्ड बन्द गरिने भएको हो।

पर्वत–बेनी–मुस्ताङ सडकखण्ड माथिबाट निर्माण हुने झोलुंगे पुलको आवश्यक लठो तान्नका लागि सहायक जग निर्माण गर्नुपर्ने र त्यस क्रममा ढुंगा, माटो सडकमा खस्ने सम्भावना भएका कारण नौ दिनसम्मका लागि उक्त सडकखण्ड साढे आठ घण्टा बन्द गरिने भएको हो।

भिरमा सहायक जग (फाउन्डेसन) निर्माण गर्दा निस्कने चट्टान तथा माटो सोझै सडकखण्डमा खस्ने भएका कारण सम्भावित दुर्घटनाप्रति सजगताका लागिसडक बन्द गर्ने निर्णय गरिएको बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए।

यही भदौ ५ गतेदेखि १३ गतेसम्म बिहान ७ः०० देखि ९ः०० बजे र त्यसपश्चात बिहान १०ः०० देखि अपराह्न साढे ४ः०० बजेसम्म कुश्मा–१ मालढुङ्गादेखि पर्वतकै जलजला गाउँपालिकाको डमुवाखोलासम्म सडक पूर्णरूपमा बन्द गरेर निर्माणकार्यलाई तीव्रता दिन लागिएको नगर प्रमुख पौडेलले जानकारी दिए।

सडक बन्द हुँदा म्याग्दी र मुस्ताङबाट छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधन उक्त समयमा छुट्न सक्ने छैनन्। यस क्रममा पर्वतको मालढुंगा, जलजला हुँदै बेनी, म्याग्दी, मुस्ताङ आवतजावत गर्ने सवारीसाधनलाई बागलुङ बजार हुँदै म्याग्दीको रत्नेचौरदेखि बेनी जाने वैकल्पिकमार्ग प्रयोग गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी क्षेत्रीले जानकारी दिए।

कार्यालय, विद्यालयबाट आवतजावत गर्ने समयलाई ध्यानमा राखेर निर्माणकार्यले समेत गति लिने गरी समय तालिका तय गरिएको नगरप्रमुख पौडलेले बताए। पुल निर्माणको जिम्मा पाएको हिमशिखर कन्ट्रक्सनले बागलुङ खण्डको जग (फाउन्डेसन)को काम सकेर पर्वत खण्डमा धमाधम काम गरिरहेको छ।

पर्वत खण्डमा काम गर्दा सडक बाधक बनेका कारण प्रशासन तथा सम्बन्धित नगरपालिकालाई सडक बन्द गरिदिन आग्रह गरिएको हिमशिखर कन्ट्रक्सनले जनाएको छ। नेपालकै सबैभन्दा लामो झोलुंगे पुल ५६७ मिटरको हुनेछ भने १३८ मिटर उचाइको हुनेछ। उक्त पुल रु छ करोड ९१ लाखको लागतमा ब्रिज सस्पेन्सन डिभिजन कार्यालय काठमाडौँले निर्माण गर्न ठेक्कामार्फत हिमशिखर कन्ट्रक्सनलाई जिम्मा दिएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .