अब उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी लाई कुटपिट गरे तीन वर्षसम्म कैद र तीन लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संसोधन) अध्यादेश, २०७८ मा यस्तो व्यवस्था गरिएको छ। पछिल्लो समय उपचारको क्रममा बिरामीको मृत्यु हुँदा स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना बढ्न थालेपछि सरकारले यो अध्यादेश ल्याएको हो।
अध्यादेश अनुसार स्वास्थ्य संस्थामा आगजनी गरिए ५ वर्ष कैद र ५ लाख रुपैयाँ वा दुवै जरिवाना हुन सक्ने छ । स्वास्थ्य संस्था घेराउ गरे पनि एक वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था अध्यादेशले गरेको छ।
अध्यादेशको नेपाल चिकित्सक संघले स्वागत गरेको छ। संघले एक विज्ञप्ति जारी गर्दै अध्यादेश कार्यान्वयन र यसमा रहेका कमिकमजोरीलाई परिमार्जन गर्दै संसदबाट मूल ऐन बनाउनु पर्नेमा जोड दिएको छ।

प्रतिक्रिया