नुवाकोटको ककनी गाउँपालिकाले कोरोना संक्रमणबाट निधन भएकाको परिवारलाई २५ हजार रुपैयाँ राहत दिने घोषणा गरेको छ।
यस्तै, संक्रमितलाई उपचारका लागि ५ हजार रुपैयाँ दिने निर्णय गरिएको ककनी गाउँपलिकाका अध्यक्ष मानबहादुर लामाले जानकारी दिए ।
गाउँपालिकाले कोरोनाबाट संक्रमित बिरामी भएकाहरुको पहिचान तथा तिनको उपचार गरी समाधान गर्ने प्राथमिकता दिएको गाउँपालिकाले प्रत्येक नागरिकको सीघ्र परीक्षण, छिटो उद्धार, उपचारदेखि कोभिडबाट बच्न संक्रमितलाई प्रोत्साहन र मृतक परिवारलाई राहत लगायतका कार्यक्रम सुरु गरेको जनाएको छ।
गाउँ कार्यपालिकाको बुधबार बसेको बैठकले राहत रकमबाहेक संक्रमितको उपचार र अक्सिजनदेखि औषिधको निशुल्क व्यवस्था गाउँपालिकाले नै गर्दै आएकोले भविष्यमा पनि यसलाई निरन्तरता दिइने निर्णय गरेको छ।
राजधानी काठमाडाैंसँगै जोडिएको ककनी गाउँपालिकामा हालसम्म ३ सय ३७ सक्रिय संक्रमित पुगिसकेको छ भने ३ जनाले ज्यान गुमाइसकेका छन्।
गाउँपालिका केन्द्र रानिपौवास्थित स्वास्थ्य केन्द्र र ओखरपौवा, चाउथे लगायत अन्य विभिन्न वडामा गरी करिब ४० वटा संख्यामा आइसोलेसन बेड तयारी अवस्थामा राखेको गाउँपालिकाले जानकारी दिएको छ।
विगतदेखि नै जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीसहितको ८ देखि १० जनासम्मको २४ सै घण्टा गाउँपालिकाभर नियमित खटिएका छन्।

प्रतिक्रिया