नेपाल–चीन एक्जिक्युटिभ काउन्सिल (एनसीईसी) नामक मैत्री संस्थाले शहिद गंगालाल अस्पताललाई अत्यावश्यकीय मेडिकल सामग्री तथा उपकरण प्रदान गरेको छ।
सो संस्थाले अक्सिजन कन्सन्ट्रेटर, पावर्ड एअर–प्युरिफाइङ रेस्पिरेटर्स (पीएपीआर), पीपीई, सर्जिकल तथा एन९५ मास्क, सर्जिकल गाउनहरु, स्यानिटाइजर, सर्जिकल पञ्जा लगायतका सामग्रीहरु सो अस्पतालको कोभिड युनिटलाई प्रदान गरेको जनाएको छ।

एनसीईसीका अनुसार चीनको तिब्बत स्वायत्त क्षेत्रको मित्रराष्ट्रहरुसँगको पिपल्स एसोसियसन फर फ्रेन्डसिप (पीएएफएफसी) नामक संस्थाबाट पछिल्लो खेपमा ५० लाख रुपैयाँ बराबरको सहयोग प्राप्त भएको हो।
सो हस्तान्तरण कार्यक्रममा एनसीईसीका अध्यक्ष अनुपरञ्जन भट्टराईले कोरोना महामारीको पहिलो लहरदेखि नै नेपाली अस्पतालहरुलाई सो संस्थाले सहयोग गर्दै आएको बताए। सो संस्थाले गत फेब्रुअरी महिनामा चीनमा कोरोना महामारी फैलिएका बेला सिचुआन प्रान्तलाई मास्क, पञ्जा, स्यानिटाइजरहरु प्रदान गरेको उनले बताए।
उनका अनुसार अस्पताललाई पहिलोपटक पीएपीआर प्रदान गरिएको हो। त्यसबाट जोखिमपूर्ण अवस्थामा कोरोना संक्रमितको उपचारमा खटेका डाक्टर, नर्स लगायतका स्वास्थ्यकर्मीको सुरक्षाका लागि महत्वपूर्ण सहयोग पुग्ने उनले बताए।

गंगालाल अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले सो सहयोगबाट कोभिड संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल उच्च पार्ने बताए।
सो संस्थाले किर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा प्रशिक्षण केन्द्र र कान्ती बाल अस्पताललाई पनि स्वास्थ्य सामग्री प्रदान गरेको थियो।
सो चिनियाँ सहयोग काठमाडौंस्थित स्वास्थ्य संस्थाहरुलाई मात्र नभई झापाको भद्रपुर र कैलालीको धनगढीस्थित अस्पतालहरुलाई पनि प्रदान गरिएको बताए।


प्रतिक्रिया