ad ad

समाज


डाक्टर भन्छन्ः खोप लगाएकाहरु अपवादबाहेक सिकिस्त भएका छैनन्

डाक्टर भन्छन्ः खोप लगाएकाहरु अपवादबाहेक सिकिस्त भएका छैनन्

यज्ञराज जोशी
जेठ २०, २०७८ बिहिबार ११:३०,

कोरोना संक्रमित भएर आएका बिरामीलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन सुरुमै सोध्छन्, ‘खोप लगाउनुभएको छ कि छैन?’

‘अस्पतालमा जटिल अवस्थामा आइपुगेका बिरामी वा उहाँहरुका आफन्तसँग कुरा गर्दा अधिकांश खोप लगाउन नपाएकै हुनुहुन्छ,’ अस्पतालका क्लिनिकल रिचर्ट युनिट प्रमुख डा. पुनले भने, ‘शतप्रतिशत हामी भन्दैनौँ, तर अपवादबाहेक दुवै मात्रा खोप लगाएकाहरु सिकिस्त अवस्थामा पुगेको मैले देखेको छैन।’

उनले पहिलो मात्रा मात्रै लगाएका जटिल अवस्थामा अस्पताल भर्ना हुनेहरु छन्। तर, त्यो संख्या पनि सानो भएको डा. पुनले बताए। खोप लगाएकाहरुमा संक्रमण भए पनि सामान्य लक्षण मात्रै देखिएको उनको भनाइ छ।

‘खोप लगाएकाहरुलाई संक्रमण नभएको होइन। तर दुई डोज खोप लगाएकाहरुमा संक्रमण दर निकै नै कम देखिएको छ,’ उनले थपे, ‘खोप लगाएकाहरुलाई संक्रमण भयो भने पनि एकदमै सामान्य लक्षणमात्रै देखिने र निको भएर मसँग आफ्ना अनुभवहरु साट्नुभएको छ।’

नेपालमा हालसम्म अग्रपंक्तिमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, सांसद, व्यापारी, कर्मचारी, कूटनीतिक नियोगका कर्मचारी, पत्रकार तथा ६५ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइएको छ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पनि नेपालमा कोरोना खोपको प्रभावबारे अनुसन्धान गरेको छ। परिषद्का सदस्यसचिव डा.प्रदीप ढकालले खोप लगाएका स्वास्थ्यकर्मीहरुको एन्टिबडी टेस्ट गर्दा कोरोना खोप प्रभावकारी देखिएको बताए।

‘हामीले खोप लगाएका स्वास्थ्यकर्मीहरुको एन्टिबडी टेस्ट गरेका थियौँ। उहाँहरुमा राम्रो एन्टिबडी देखिएको छ,’ ढकालले भने, ‘एन्टिबडी देखिनु भनेको खोपले सुरक्षा दिनु हो। अब हामी पब्लिकमा जाँदैछौँ। खोप लगाएका र नलगाएकामा संक्रमण दर कस्तो छ, खोप लगाएका कति संक्रमित भएका छन्, त्यसपछि थाहा हुन्छ।’

स्वास्थ्य मन्त्रालयका परिवार कल्याण महाशाखा प्रमुख डा.तारानाथ पोखरेलले पनि खोपको दुवै मात्रा पुरा गरेकालाई संक्रमणको दर एकदमै कम रहेको बताए। उनले खोपले महामारी नियन्त्रणमा सहयोग पुर्‍याएको बताए।

‘खोप लगाएपनि संक्रमण भएको हल्ला पनि चलेको रहेछ। तर, त्यो गलत हो। खोपले महामारीलाई नियन्त्रण गर्न सहयोग पुगेको छ,’ पोखरेलले भने, ‘दुवै मात्रा पुरा गरेका मान्छेलाई संक्रमणको दर एकदमै कम छ। मृत्युदर घटाउन पनि मद्दत पुगेको छ।’

उनले अपवादस्वरुप खोप लगाएका केहीमा संक्रमण देखिनु अनौठो नभएको बताए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पनि कोरोना खोप लगाएकाहरुमा एन्टिबडी बनेको नबनेको परीक्षण गर्दै आएको छ। प्रयोगशालाका प्रवक्ता राजेशकुमार गुप्ताले त्यहाँ परीक्षण गरिएका लगभग सबैमा एन्टिबडी देखिएको छ।

‘दैनिक ५–६ वटा एन्टिबडी टेस्ट गरिन्छ। करिब सबैमा एन्टिबडी बनेको छ,’ गुप्ताले भने, ‘एन्टिबडी बन्नु भनेकै भाइरसविरुद्ध सुरक्षाकवज प्राप्त हुनु हो। यसले खोपले प्रभावकारी काम गरिरहेको पुष्टि हुन्छ।’

डा. पुनले छिटोभन्दा छिटो खोप ल्याएर धेरै भन्दा धेरै जनसंख्यालाई लगाउन पाए महामारी नियन्त्रणमा सघाउ पुग्ने बताए। तर अहिले सबैले खोप नलाएको हुनाले जनस्वास्थ्यका मापदण्ड अपनाउनै पर्ने उनको भनाइ छ।

‘खोप लगाएकाहरुले संक्रमण सार्न सक्ने सम्भावना कम हुन्छ भनिएको छ। तर शतप्रतिशत सार्दैनन् भन्ने होइन’ उनले भने, ‘सोहीकारण सबैलाई खोप नलगाएसम्म जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ। त्यसले जोखिम घटाउन मद्दत पुग्छ।’

नेपालमा १८ वर्षभन्दामाथिका २ करोड १६ लाख जनसंख्यालाई खोप लगाउने योजना छ। चीनले अनुदानस्वरुप दिएको १० लाख डोज खोप यही जेठ २५ गतेबाट ६० वर्षमाथिका लागि लगाउने निश्चित भइसकेको छ।

त्यसबाहेक चीन, अमेरिकाबाट खोप किन्न प्रस्ताव लगिएको सरकारले जनाएको छ। खरिदका लागि विभिन्न मुलुक र कम्पनीसँग पहल भइरहेकाले थप खोप छिट्टै आशा पोखरेलले व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .