समाज


छाक टार्न समस्या भयो? ११८० मा सम्पर्क गर्नुस्

छाक टार्न समस्या भयो? ११८० मा सम्पर्क गर्नुस्

नेपालखबर
जेठ २०, २०७८ बिहिबार ९:२४,

काठमाडौं महानगरपालिकाले बन्दाबन्दीको समयमा कसैलाई छाक टार्न समस्या भए हटलाइन नम्बर ११८० मा फोन गर्न आग्रह गरेको छ।

दोस्रो लहरको कोभिड–१९ का कारण देशका अधिकांश जिल्लामा बन्दाबन्दी गरिएको छ। यस समयमा कसैलाई दैनिकी चलाउनका लागि खाद्य सामग्री आवश्यक परे महानगरपालिकाको हटलाइन नम्बरमा फोन गर्न भनिएको हो। अघिल्लो वर्षको कोरोना महामारीका समयमा विभिन्न संघसंस्था र महानगर आफैँले पनि वडासँग समन्वय गरी समस्यामा परेकालाई खाद्य सामग्री वितरण गरेको थियो।

‘गत वर्षको तुलनामा यस वर्ष खानका लागि समस्या पर्‍यो भन्दै आउनेको सङ्ख्या एकदमै कम रहेको छ, आएकालाई वडा कार्यलयमार्फत सहयोग गरिरहेका छौँ’, महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले भने, ‘कोही समस्यामा परेर पनि कहाँ सम्पर्क गर्ने भनेर अन्योल हुनुभएको भए आफू बसोबास गरेको स्थानसहित ११८० मा फोन गरेर जानकारी गराउन आग्रह गर्दछु।’

यसरी जानकारी प्राप्त भएपछि महानगरपालिकाका ३२ वडामध्ये कुन वडाबाट सहयोग हुन्छ सोहीअनुरुप आवश्यक खाद्य सामग्री सहयोग गरिने जनाइएको छ।
‘कोभिडका बिरामीलाई उपचारमा सहज होस् भन्ने हेतुले बिरामीलाई अस्पताल पुग्न पनि कोभिड–१९ का बिरामीका लागि फोन नं १०२ मार्फत १० र नन्कोभिड बिरामीका लागि १० गरी कूल २० निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ। त्यसबाट हालसम्म २२ हजार कोभिड संक्रमित बिरामी र १२ हजार नन्कोभिड बिरामीले सेवा लिएका छन्।

महानगरपालिकाले अक्सिजनको चरम अभावका कारण उत्पन्न असहज अवस्थालाई ध्यानमा राखेर अक्सिजनकै कारण अस्पतालमा हुने बिरामीको चापलाई कम गर्न ३०९ शय्याको आइसोलेशन र विषेश अस्पताल सञ्चालनमा ल्याएको छ। महानगरको आर्थिक सहयोगमा सामाखुशीस्थित राधास्वामी सत्सङ्ग भवनमा नेपाली सेनाको व्यवस्थापनमा ८८ अक्सिजनसहित १७४ शय्याको आइसोलेशन केन्द्र, आयुर्वेद अस्पतालमा ५० अक्सिजनसहित १०० शय्याको आइसोलेशन केन्द्र र छत्रपाटी निःशुल्क चिकित्सालयमा आईसीयू तथा भेन्टिलेटरसहितको ३५ शय्याको कोभिड–१९ विशेष अस्पताल सञ्चालनमा छ।

हाल महानगरपालिकामा ६२ हजार ३८३ कोरोना संक्रमित रहेकामा ५१ हजार १६७ निको भएका छन् भने १० हजार ९५ होमआइसोलेशन र १८६ संस्थागत आइसोलेशनमा रहेका छन। त्यस्तै यहाँ हाल १० हजार ७९७ सक्रिय संक्रमित रहेका र यहाँ ५१६ जनाले अस्पतामा उपचार गराइरहेका छन्। यहाँ कोरोनाका कारण ४१९ ले ज्यान गुमाएको तथ्यांकमा उल्लेख छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad