समाज


प्रस्तावित मनमोहन मेडिकल कलेजको भवनमा तीन सय शय्याको अस्पताल सञ्चालन हुँदै

प्रस्तावित मनमोहन मेडिकल कलेजको भवनमा तीन सय शय्याको अस्पताल सञ्चालन हुँदै

नेपालखबर
जेठ १८, २०७८ मंगलबार १३:४५,

सरकारले प्रस्तावित मनमोहन मेडिकल कलेज शिक्षण अस्पतालको बेसिक साइन्सका लागि तयार पार्न लागिएका भवनमा कोभिड–१९ केयर युनिटमा अक्सिजन प्लान्ट, आईसीयू र अन्य आवश्यक व्यवस्थापन गर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले आज चन्द्रागिरि नगरपालिकास्थित दहचोकमा रहेको सो कलेजको भवनको स्थलगत अनुगमन गर्दै कोरोना नियन्त्रणका लागि विभिन्न संरचनालाई प्रयोग गर्ने क्रममा ३०० शय्याको सरुवा रोग अस्पतालका रुपमा भवनलाई अगाडि बढाउन लागेको जानकारी दिए। निरीक्षण अनुगमनमा उनीसँगै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ उपस्थित थिए।

मन्त्री त्रिपाठीले राज्यको लगानीमा बनेको उक्त अस्पताल संरचनाको उच्च मूल्यांकन गर्दै शीघ्र सञ्चालन गरिने उल्लेख गरे। उक्त पूर्वाधारलाई पूर्ण सदुपयोग गर्न स्थानीय स्वास्थ्य संस्था वा सुविधा सम्पन्न अस्पतालको रुपमा सञ्चालन गर्ने सरकारसँग दुई विकल्प रहेको जानकारी दिए।

उनले समुदायस्तरमा कोभिड रोकथामका लागि विविध उपाय अवलम्बन गरिने क्रमसँगै कोभिड संक्रमण दर घट्न लागेको जानकारी दिए। संक्रमणको तेस्रो लहरको जोखिम आउँदै गर्दा पहिलो चरणमा बृद्धबृद्धा, दोस्रो चरणमा युवा पुस्तालाई संक्रमणको जोखिम देखिए जस्तै तेस्रो लहरमा बालबालिका संक्रमणको जोखिममा रहेको हुँदा बेलैमा सचेत हुँदै पूर्वतयारी थाल्नु जरुरी रहेको उनको भनाई थियो।

भारतबाट २० लाख मात्रा खोप खरिद गरिएकोमा १० लाख ल्याइसकिएको र १० लाख मात्रा भारतमा संक्रमण फैलिएकाले ल्याउन नसकिएको जानकारी दिँदै उनले बाँकी खोप खरिदका लागि मन्त्रालयले प्रक्रिया अघि बढाएको बताए।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री श्रेष्ठले भौतिक संरचनालाई तल्काल सञ्चालन गरिनुपर्नेमा जोड दिए। उनले अस्पताल संरचना बनेर पनि सञ्चालन नहुँदा भएका भवन जीर्ण हुँदै जानु दुखद् रहेको जनाउँदै सञ्चालनमा रोक लगाउने भन्ने कुरा मान्य नहुने बताए। अनुगमनको क्रममा कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा. धर्मदत्त सुवेदीलगायतले वस्तुस्थितिका बारोमा जानकारी गराएका थिए।

उक्त अस्पतालमा तीन सय शय्याका लागि आवश्यक पूर्वाधार पनि रहेको र यसबारे सीसीएमसीलगायतमा कुरा राखिसक्दा पनि स्थापनाको पहल नभएको उनले गुनासो गरे।

महत्वपूर्ण अस्पताल संरचना आँखै अगाडि भएर पनि यसबाट कुनै स्वास्थ्य लाभ लिन अपाउँदा दुःख लाग्ने गरेको स्थानीय बासिन्दाको भनाई छ। चन्द्रागिरि नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जन, वडा नं १ का वडाध्यक्ष राजेन्द्र केसीलगायतले अस्पतालका लागि आवश्यक पूर्वाधार र जनशक्ति सरकारले चाँडो उपलब्ध गराएर शीघ्र अस्पताल सञ्चालनमा ल्याउनुपर्ने माग गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad