समाज


स्वास्थ्यकर्मीमाथि आक्रमण : छानबिन समितिले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मीमाथि आक्रमण : छानबिन समितिले बुझायो प्रतिवेदन

नेपालखबर
जेठ १८, २०७८ मंगलबार १२:५४,

नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमण घटनाको वास्तविकता बुझ्न गठित छानबिन समितिले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाएको छ।

सहायक प्रजिअ शंकर विष्टका संयोजकत्वमा गठित सात सदस्यीय समितिले प्रजिअ शिवराम गेलाललाई सोमबार प्रतिवेदन बुझाएको हो। उक्त प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन।

संयोजक विष्टले कोरोना महामारीका कारण भेरी अस्पतालमा भएको जनशक्ति अभाव, घटना भएको दिन उत्पन्न परिस्थिति, जनशक्ति अभावलगायत समस्या र त्यसको दीर्घकालीन समाधानका लागि प्रतिवेदनमा सुझाव दिइएको बताए।

उनका अनुसार छानबिन समितिले घटनाको स्थलगत अध्ययन, कुटपिट गरिएका चिकित्सक र स्वास्थ्यकर्मी, पीडक, घटनाका प्रत्यक्षदर्शी र बिरामीका कुरुवासँग समेत सोधपुछ गरेर प्रतिवेदन तयार पारेको छ। उक्त प्रतिवेदनमा घटना हुनाको कारण र दीर्घकालीन समस्या समाधानको पाटालाई पनि समावेश गरिएको छ।

गत बिहीबार दाङका कोरोना संक्रमित ५३ वर्षीय डिल्ली रावतको उपचारका क्रममा मृत्यु भएपछि मृतकका भाइ मानबहादुर, छोरा भरत र लोकराजलगायतले भेरी अस्पतालमा काममा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नाका साथै सघन उपचार कक्षमा तोडफोड गरेका थिए। घटनामा संलग्नविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाइएको छ। सोही घटनाको छानबिनका लागि समिति गठन गरिएको हो।

भेरी अस्पताल विकास समितिका दुई सदस्य, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक, नेपाल चिकित्सक संघका दुई सदस्य र नर्सिङका तर्फबाट एक सदस्य रहने गरी समिति बनाइएको थियो। अहिले भेरी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राखी प्रहरी नायब निरीक्षकको नेतृत्वमा २५ प्रहरी सुरक्षाकर्मी परिचालन गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad