जापानले अस्ट्राजेनिकाबाट १२ करोड डोज खोप मगाएको थियो। जापान र अस्ट्राजेनिकाबीचको सम्झौताअनुसार सो खोप जापानले अन्य देशलाई दिन पाउँदैन।
तर अस्ट्राजेनिकाका खोपहरु बाँकी रहेर प्रयोग नभएपछि जापानको स्वास्थ्यमन्त्रालयले यतिबेला अस्ट्राजेनिकासँग ताइवानलाई खोप पठाउने विषयमा कुराकानी गरिरहेको निक्केई एसियाले जनाएको छ।
जापानको जनसंख्या १२ करोड ६३ लाख हो। तर जापानले १२ करोड डोज अस्ट्राजेनिकाको खोपसँगै आफ्नो जनसंख्यालाई पुग्दो फाइजर र मोडेर्नाको खोप खरिद गरेको छ।
जापानले फाइजर र बायोएनटेक साथै मोडेर्नाबाट ४२ लाख डोज खोप ‘दुवै डोज’ खरिद गरेको जनाइएको छ।
जापानसँग लाखौं डोज खोप बाँकी रहेपछि उसले त्यो अन्य देशलाई दिने योजना बनाएको हो।
जापानको मन्त्रीपरिषदका मुख्य सचिव कातसोनोबु कातोले खोप ताइवानलाई दिने विषयमा छलफल चलिरहेको जानकारी दिएका छन्।
गतहप्ता मात्र जापानमा अस्ट्राजेनिकाको खोप लगाउन थालिएको थियो तर यतिबेला यो खोपलाई सरकारले आफ्नो अभियानबाट हटाएको छ।
जसका कारण यो खोपलाई यतिबेला सहयोग स्वरुप ताइवानलाई दिने चर्चा चलेको हो। तर जापानले ताइवानलाई खोप दिने विषमया चीन बाधक बन्नसक्ने देखिएको छ।
हालै ताइवानले बायोएनटेकको खोप खरिद गर्नखोज्दा चीनले अवरोध सिर्जना गरेको आरोप लगाएको थियो।
वास्तवमा टापु क्षेत्र ताइवानलाई चीनले आफ्नो राष्ट्रको हिस्सा भएको मान्दछ। ताइवानलाई आक्रमण गरेरै कब्जा गर्नसक्ने उसले चेतावनी दिँदै आएको छ।
एक चीन नीतिअनुसार ताइवानसँग अन्य राष्ट्रले सिधै व्यापार लगायत अन्य सम्बन्ध राख्द सक्दैनन्।
जसका कारण चीनले ताइवानलाई खोप किन्नबाट बन्चित गरेको अनुमान गरिएको छ।
त्यसमाथि जापान र चीनबीच पछिल्लो समय सम्बन्ध निकै बिग्रिएको छ। क्वाडमा आवद्ध जापानले चीनको लगातार आलोचना गरिरहेको छ।
यद्यपी ताइवानले आफू बेग्लै राष्ट्र भएको बताउँदै आएको छ। ताइवानको आफ्नै संविधान छ र त्यहाँ लोकतान्त्रिक प्रणालीअनुसार राष्ट्रपति छानिन्छन्।
यो सब हुँदाहुँदै पनि जापानले ताइवानलाई कोभ्याक्स योजना अन्तर्गत खोप प्रदान गर्नसक्छ। डब्लूएचओको कोभ्याक्स योजनाअनुसार यसअघि उसले हजारौं डोज खोप प्राप्त गरिसकेको छ।

प्रतिक्रिया