समाज


एक घण्टा अक्सिजन आपूर्ति बन्द हुँदा सात बिरामीको निधन

एक घण्टा अक्सिजन आपूर्ति बन्द हुँदा सात बिरामीको निधन

नेपालखबर
जेठ १४, २०७८ शुक्रबार ११:५,

पोखरास्थित गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन आपूर्ति बन्द हुँदा एक सुत्केरीसहित सात कोरोना संक्रमितको निधन भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको सो अस्पतालमा बिहीबार राति ९ देखि १० बजेको अवधिमा अक्सिजन आपूर्ति पूर्णरुपमा बन्द हुँदा उच्च गति (हाइफ्लो) अक्सिजनको सहायता र भेन्टिलेटरमा उपचार गराइरहेका बिरामीले ज्यान गुमाएका हुन्।

बिहीबार रातिदेखि आज बिहानसम्म अस्पतालको मेडिकल आइसोलेशनमा पाँच र डी क्यान्टिन आइसोलेशनमा दुई गरी सात संक्रमितको निधन भएको अस्पतालको मेडिकल आइसोलेशनका फोकल पर्सन डा डेविट श्रेष्ठले जानकारी दिए।

तनहुँकी सुत्केरी यही जेठ ५ गते कोरोना रिपोर्ट पोजेटिभ आएपछि ९ गते अस्पताल भर्ना भएकी थिइन्। उनको अस्पतालमा शल्यक्रियाविधिबाट सुत्केरी गराइएकामा अक्सिजन सहायतामा उपचार भइरहेकामा हिजो निधन भएको बताइएको छ।

डा श्रेष्ठले भने, ‘प्लान्टमा उत्पादन कम भएर हो कि किन हो हिजो दिउँसो ४ बजेदेखि नै अक्सिजन आउने रोकिने भइरहेको थियो, समयमा अक्सिजन नआउँदा हामीले सेन्ट्रल लाइनमा जोड्न सकेनौँ, राति ९ देखि १० बजेसम्म पूरै बन्द भयो, हाइफ्लो र भेन्टिलेटरमा बसेका बिरामीलाई आधा घण्टा वा एक घण्टा अक्सिजन नहुँदा अवस्था के होला?’

प्रदेशको ठूलो सरकारी अस्पताल भए पनि पश्चिमाञ्चल क्षेत्रीय अस्पतलाको आफ्नै अक्सिजन प्लान्ट छैन। अस्पतालले पोखरा अक्सिजन ग्यास प्रालिसँग अक्सिजन आपूर्तिको सम्झौता गरेको छ।

पछिल्लो समय अस्पतालमा कोभिडका बिरामी बढेसँगै अस्पतालको माग पनि उच्च छ। हाइफ्लोका बिरामीलाई अलिकति पनि अक्सिजन कमी हुने बित्तिकै समस्या हुने चिकित्सक बताउँछन्। अस्पतालमा पटकपटक अक्सिजन आपूर्ति व्यवस्थापनमा समस्या देखिँदै आएको बताइन्छ। हालको अवस्थामा अस्पतालमा न्यूनतम २५० देखि ३५० सिलिण्डर आवश्यक पर्ने अस्पतालले जनाएको छ। पोखरामा रहेका दुई अक्सिजन कम्पनीले प्रदेशमा अक्सिजन आपूर्ति गर्दै आएका छन्।

कोरोना संक्रमति बढेसँगै सरकारले पश्चिमाञ्चल अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयको सो निर्णयसँगै अस्पताल प्रशासनले कोभिड ओपिडी बाहेकका अन्य सबै आपिडी सेवा बन्द गरेको छ। हाल ७० शय्यामा कोरोनाका बिरामीको उपचार हुँदै आएकामा अस्पतालका ४०० हाराहारी श्ययामा नै कोरोना उपचार गर्ने तयारी गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad