बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात यासको प्रभावले नेपालमा पनि केही दिनयता लगातारजस्तै वर्षा भइरहेको छ।
यो खबर लेखिहँदा पनि काठमाडौं उपत्यकासहित देशका धेरैजसो स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार सुदूरपश्चिम प्रदेशबाहेक बाँकी सबै प्रदेशमा अहिले हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको हो।
‘अहिले प्रदेश १ र २ मा भारी वर्षाको सम्भावना पनि देखिएको छ,’ मौसमविद् अर्याललले बिहीबार दिउँसो नेपालखबरसँग भने, ‘यसबीच तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना देखिएको छ।’
मौसम पूर्वानुमान महाशाखाले बिहीबार दिउँसो जारी गरेको विशेष मौसम बुलेटिनअनुसार आज (बिहीबार) र भोलि (शुक्रबार) देशव्यापी रूपमा वर्षा हुने र कतै कतै निकै ठूलो वर्षा र तीव्र वेगको हावाहुरीसमेत आउने सम्भावना रहेकाले होसियारी अपनाउन आवश्यक छ।
महाशाखाका अनुसार बिहीबार (आज) : धेरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा, उच्च वेगको हावाहुरी र १/२ स्थानमा अति भारी वर्षाको सम्भावना छ। गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ।
शुक्रबार : धेरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी, अति भारी वर्षा र उच्च वेगको हावाहुरीको सम्भावना छ। उच्च हिमाली/पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षा र गण्डकी प्रदेशका केही स्थानमा बागमती प्रदेश, प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका उच्च हिमाली/पहाडी भूभागका १/२ स्थानमा भारी हिमपातको सम्भावना छ।
शनिबार : केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
विशेष मौसम बुलेटिनमा भनिएको छ : ‘यो सिजनमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिना-पानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। उच्च हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात/वर्षा तथा उच्च वेगको हावाहुरीसमेत हुन सक्ने सम्भावना रहेकाले केही दिन पर्वतारोहण नगर्न र नगराउन हुन अनुरोध छ।’
प्रतिक्रिया