गैर आवासीय नेपाली संघ, अफ्रिकाले अक्सिजनको समस्या झेलिरहेका विभिन्न स्वास्थ्य केन्द्रहरुलाई १ सय २५ थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ। देशका विभिन्न १० जिल्लाका स्वास्थ्य केन्द्रहरुलाई अफ्रिकाले अक्सिजन उपलब्ध गराएको हो।
‘हालसम्म १२५ थान अक्सिजन सिलिन्डरसहित ६५९ थान रिफिल्ड्ड अक्सिजन १० जिल्लामा हस्तान्तरण गरि सकेका छौं’ अफ्रिका क्षेत्रका संयोजक रोशन थापाले भने।
थापाका अनुसार पाल्पा जिल्ला अस्पताल तथा रामपुर अस्पताल र स्याङ्जा अस्पताललाई अक्सिजन सिलिण्डर वितरण गरिने छ ।
एनआरएनए अफ्रिकाको तत्काल अक्सिजन सहयोग अभियानले चितवनको रत्ननगर अस्पताल, कैलालीको टीकापुर अस्पताल, परासी अस्पताल, पूर्व नवलपरासीको रजहर अस्पताल, बाराको सिमरा स्वास्थ्य केन्द्र र इलाम अस्पतालमा अक्सिजन सिलिन्डर सहयोग गरिसकेको थापाले बताए। साथै अछामको मंगलसेन र बयालपाटा अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्लामा पनि सहयोग पठाउने तयारी गरिएको उनले बताए।
मंगलबार बुटवलबाट गुल्मीका लागि एनआरएनए अफ्रिकाको तत्काल अक्सिजन सहयोग अभियान अन्तर्गत १० थान अक्सिजन सिलिन्डर ( सिलिन्डर खरिद सहित) गुल्मी पठाइएको छ। उक्त सहयोग गुल्मी सत्यवती गाउँपालिका स्वास्थ्य प्रमुख सूर्यबहादुर रानालाई बुटवलमा हस्तान्तरण गरिएको छ। अक्सिजन सिलिन्डरहरु गुल्मी जिल्लाका जोहाङ्ग र भर्से स्वास्थ्य चौकीमा मंगलबार नै पुर्याउने प्रमुख रानाले जानकारी दिएका छन्।
एनआरएनए अफ्रिकाका सबै राष्ट्रिय समन्वय समितिकातर्फबाट लुम्बिनी क्षेत्रको संयोजन रहिरहेका एनआरएनए कङ्गो अध्यक्ष अमृत क्षेत्रीकाअनुसार यस सहयोगका लागि एनआरएनए बोत्स्वाना अध्यक्ष पदम भन्डारी र हङकङबाट कुलबहादुर बुढाथोकीले आर्थिक सहयोग गरेका छन्।
एनआरएन अन्तर्राष्ट्रिय समन्वय समितिका पूर्वकोषाध्यक्ष हिक्मत थापाले नयाँ सिलिन्डर खरिद, पुरानो भर्न र अन्य स्वास्थ्य सामग्रीका लागि अफ्रिका एनआरएनले ३० लाख रुपैयाँ खर्च गरेको बताए ।

प्रतिक्रिया