सरकारले कोभिड–१९ को विरुद्धको खोपका लागि विभिन्न खोप उत्पादक मुलुकसँग पत्राचार गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अमेरिका, रुस, बेलायत, चीन र भारत लगायत खोप उत्पादक मुलुकसँग खोप ल्याउन औपचारिक पत्र पठाइएको छ।
मन्त्रालयद्वारा आज आयोजित भर्चुअल पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले ती मुलुकका स्वास्थ्यमन्त्रीलाई सम्वोधन गर्दै करिव ५० लाख खोप खरीद गर्न सरकार इच्छुक भएको जानकारी दिए।
ती मुलुकमध्ये केहीले पत्रको जवाफ दिएका र केहीले दिन बाँकी रहेको उनको भनाई छ।
‘खोप उत्पादक देशसँग व्यक्तिगत, राजनीतिक र कुटनीतिक पहल भइरहेको छ,’ उनले भने, ‘यसैले खोप चाँडै आउँछ।’
उनले अन्तर्राष्ट्रिय बजारमा खोप नभएकोले आउन ढिलाई भइरहेको जानकारी दिए।
मन्त्री त्रिपाठीले युरोपियन युनियसँंग मौज्दात रहेको खोप ल्याउनेबारे पनि छलफल भइरहेको समेत जानकारी दिए। अहिले भारत सरकारले १० लाख मात्रा कोभिशिल्ड, चीन सरकारले आठ लाख मात्रा भेरोसेल र कोभ्याक्स सुविधा मार्फत तीन लाख ४८ हजार कोभिशिल्ड अनुदानमा र १० लाख कोभिशिल्ड खोप खरीद गरेको छ।
मन्त्रालयका अनुसार अहिलेसम्म २६ लाख ६५ हजार ९८७ ले पहिलो मात्रा र पाँच लाख ५३ हजार ५८९ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन्। मन्त्री त्रिपाठीले अवको चार हप्तामा सङ्क्रमण घट्दै जाने बताए।
विगत केही दिनदेखि सङ्क्रमण घट्दै गएकाले आगामी चार हप्तामा घट्ने उनको भनाई रहेको छ। उनले सरकारले निषेधाज्ञा जारी गरेपनि जनस्वास्थ्यका मापदण्ड लागू नभएको बताए।
मन्त्री त्रिपाठीले कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न सरकारले भौतिक पूर्वाधार पनि उल्लेखनिय रुपमा जोडिएको जानकारी दि)। उनका अनुसार भेन्टिलेटर ५७७ थप गरिएको र १०४ वटा थप्ने क्रममा रहेको छ।
यस्तै सघन उपचार कक्ष (आएैसीयू) ४०० थप गरि तीन हजार पु¥याइएको र ६३० थप्ने योजना रहेको छ। हाइ डिपेन्डेन्सी युनिट (एचडीयू) दुई हजार २७५ सरकारी र निजी अस्पतालमा ७७८ थपिएको तथा ४०० थप गर्ने योजना रहेको छ। मन्त्री त्रिपाठीले विज्ञले स्वास्थ्य संकटकाल लगाउनेबारे दिएको सुझावलाई मन्त्रालयले सकारात्मक रुपमा लिएको जानकारी दिए।
सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणक लागि देशभरका १५७ अस्पताललाई सूचीकृत गरि उपचार गरिरहेको छ। तिमध्ये ४५ वटा निजी अस्पतालबाट कोभिड–१९ संक्रमित बिरामीको निःशुल्क उपचार गरिरहेको छ। मन्त्री त्रिपाठीले गत वैशाखमा मात्रै कोभिड–१९ बिरामीको निःशुल्क उपचार गरेबापत ४५ करोड रुपैयाँ अस्पतालहरुलाई शोध भर्ना गरेको जानकारी दिए।
अक्सिजन अभाव कम
मन्त्रालयले अक्सिजनको अभाव विस्तारै कम भइरहेको जनाएको छ। उनले संक्रमितको उपचारका लागि अक्सिजनको व्यवस्थापन विस्तारै सहज भइरहेको जानकारी दिए। उनका अनुसार ३२ अस्पतालमा अक्सिजन प्लान्ट रहेकोमा थप १९ अस्पतालमा थप्ने योजना मन्त्रालयको रहेको जानकारी दिए।
यस्तै तरल अक्सिजन तीन अस्पतालमा भएपनि मन्त्रालयले थप २७ मा जोड्ने तयारी रहेको छ।
संक्रमणको दोस्रो लहर आइसकेपछि सरकारले ९०० अक्सिजन कन्सन्ट्रेटर र पाँच हजार अक्सिजन सिलिण्डर ल्याएको छ। मन्त्रालयका सचिव लक्ष्मण अर्यालले अहिले हप्तामा ७० देखि ८० टन तरल अक्सिजन ल्याइरहेको जानकारी दिए। उनका अनुसार पहिला २० टन मात्र आउने गरेका थियो। उनले अबको केही दिन सय टन तरल अक्सिजन भारत लगायत मुलुकबाट ल्याउने बताए।
मन्त्रालयले १६ हप्ता पुगेपछि कोभिशिल्डका दोस्रो मात्रा खोप दिइने जनाएको छ। मन्त्रालयका विशेषज्ञ डा रोशन पोखरेलले भारतले पठाएको नयाँ मापदण्ड अनुसा १२ देखि १६ हप्तासम्ममा दोस्रो मात्रा दिइने अनुसार खोप लगाउने तयारी भइरहेको बताए। अहिले सरकारसँग कोभिशिल्डको खोप ९० हजार मात्रा छ। रासस

प्रतिक्रिया