कोरोना महामारी रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अवधि लम्ब्याउने तयारी गरिएको छ।
यसअघि घोषित निषेधाज्ञा अवधि यही जेठ १३ गते मध्यराति सकिँदैछ।
तर स्थिति अझै भयावह नै रहेकाले यो अवधि लम्ब्याउनुपर्ने देखिएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।
‘त्यसका लागि हामी भोलि तीनै (काठमाडौं, ललितपुर र भक्तपुर) जिल्लाका सीडीओ (प्रमुख जिल्ला अधिकारी) छलफलमा बस्दैछौं,’ सोमबार बिहान नेपालखबरसँग पराजुलीले भने।
जेठ १३ पछि निषेधाज्ञा अवधि एक हप्ता थप्ने कि भन्ने सोच रहेको तर भोलि मंगलबार छलफलपछि मात्रै यस विषयमा निर्णयमा पुगिने उनले बताए।
गत वैशाख १६ देखि काठमाडौं उपत्यकामा लगातार निषेधाज्ञा लागू छ। सुरुमा एक हप्ता निषेधाज्ञा जारी गरेका तीन जिल्लाका प्रशासन कार्यालयले दुईपटक अवधि थपेर जेठ १३ सम्म लम्ब्याएका हुन्।
उपत्यकाका तीन जिल्लाले एकैसाथ र उही नियमका साथ निषेधाज्ञा घोषणा गर्ने गरेका छन्।
अहिले लगभग देशैभर निषेधाज्ञा लागू छ। दुई जिल्लामा मात्रै निषेधाज्ञा हुन बाँकी छ।
निषेधाज्ञा अवधिभर अत्यावश्यक अवस्थामा बाहेक घरबाट निस्किनसमेत पाइन्न। अटेर गरे जरिवाना तथा जेल सजायसम्म हुने कानुनी व्यवस्था छ।
यो पनि : यी हुन् निषेधाज्ञा जारी ७५ जिल्ला
Shares

प्रतिक्रिया