समाज


लमजुङ भूकम्प : २४ घण्टामा ८६ धक्का, विज्ञ यसो भन्छन्

लमजुङ भूकम्प : २४ घण्टामा ८६ धक्का, विज्ञ यसो भन्छन्

नेपालखबर
जेठ ६, २०७८ बिहिबार ३:४२,

लमजुङमा २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ। लमजुङको मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएको थियो। त्यसयता आज बिहानसम्म ८७ पटक भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

हिजो बिहानदेखि आज बिहान ५ बजेर ५१ मिनेटसम्मको अवधिमा यतिका सङ्ख्यामा भूकम्प गएको हो। केन्द्रले यसलाई ०७२ साल वैशाख १२ गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनासकारी भूकम्पकै परकम्प भनेको छ।

केन्द्रका अनुसार २४ घण्टाको अवधिमा चार रेक्टरभन्दा माथिका ६ वटा र सो भन्दा कम रेक्टरका ८२ वटा भूकम्पका धक्का गएको छ। बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८, ८ बजेर १६ मिनेटमा ४, ८ बजेर १७ मिनेटमा ४ दशमलव १, ८ बजेर २६ बजेटमा ५ दशमलव ३, बुधबार राति ९ बजेर २३ मिनेटमा ४ र १० बजेर ३९ मिनेटमा ४ दशमलव ५ रिक्टर स्केललको भूकम्प गएको उक्त केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आज बिहान ५ बजेर ५१ मिनेटमा ३ दशमलव २ रिक्टर स्केलको भूकम्प गएको छ।

यसरी पटकपटक भूकम्प जाँदा लमजुङ जिल्लाबासी त्रासमा छन्। बुधबार बिहानदेखि साँझसम्म नै भूकम्पको त्रासले आजित बनाएको जिल्लाबासीलाई रातिको समयमा समेत पटकपटक भूकम्पको धक्का जाँदा राम्रोसँग सुत्न त के, घरभित्र बस्न पनि समस्या भयो।

कतिपय स्थानीयवासी रातभरि घरबाहिर नै सुते भने कति नसुति भित्र बाहिर गरिरहे । जिल्लामा भूकम्प जाँदा सहजरूपमा बाहिर बस्न सक्ने अस्थिति समेत थिएन । रातिको समयमा वर्षा भइरहेकाले थप समस्या भएको स्थानीयले बताएका छन्। कोरोना सङ्क्रमणको जोखिम उच्च भएपछि सरकारले निषेधाज्ञा जारी गरेको समयमा भूकम्प जाँदा लमजुङबासी थप मारमा परेका छन्।

कोरोना सङ्क्रमण परीक्षण नगरेकाहरुलाई सङ्क्रमणको जोखिम भए सबैलाई सर्ने उच्च सम्भावनाले पनि मन आत्तिएको बेँसीशहर नगरपालिका–८ की सिर्जना श्रेष्ठको भनाइ छ । ‘कोरोनाको यस्तो जोखिम मोलेर पनि भूकम्प आउँदा बाहिर निस्किएर अन्य स्थानीयवासी भएकै ठाउँमा गएर बस्ने र भूकम्प धक्का कम भएपछि घरभित्र गर्ने गरेर राति बिताइयो।’

सिर्जना जस्तै समस्या अधिकांश जिल्लाबासीले बेहोरेका छन्। भूकम्पले घरसहितका संरचना भत्किँदा लमजुङमा ६ जना घाइते भएका छन् भने २०० घरमा क्षति पुगेको स्थानीय प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले अझै भूकम्प जान सक्ने भएकाले सबैजना सुरक्षित, सतर्क र सजग भएर बस्नुपर्ने बताए। ‘यो विपद्को घडीमा सबैलाई एकजुट भएर अघि बढ्न र नआत्तिन आग्रह गर्छु,’ उनले भने।

राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् डा.लोकविजय अधिकारीले ठूलो भूकम्प (०७२ वैशाख १२) पछि सानाठूला परकम्प जानु सामान्य घटना भएको बताए। ‘लमजुङमा मात्रै यत्तिका परकम्प किन गयो? भन्ने प्रश्न पनि आउँने गरेका छन्,’ अधिकारीले बिहीबार बिहान नेपालखबरसँग भने, ‘छोटो अवधिमै त्यहाँ धेरै परकम्प गएका छन्। तर, यो अचम्मको विषय भने होइन। ठूला भूकम्पपछि अन्यत्र पनि यस्ता परकम्प सयौँ गएका छन्। यो नयाँ कुरो होइन।’

उनले नेपाल सधैँ भूकम्पको जोखिम क्षेत्रमा रहेको बताए। ‘नेपालको हिमालय क्षेत्र सधैँ भूकम्पको जोखिममा छ,’ उनले भने, ‘अहिलेसम्मको प्रविधिले भूकम्पको पूर्वानुमान गर्न सकेको छैन। यसबाट जोखिन हामी सजग हुनुको विकल्प छैन।’

नेपालको पूर्वी र मध्य क्षेत्र भन्दा पश्चिमी क्षेत्रमा ठूलो भूकम्पको जोखिम बढी रहेको उनले बताए। पश्चिमी क्षेत्रमा ठूला भूकम्प नगएको लामो अवधि भएकाले पूर्व र मध्यको तुलनामा पश्चिमी क्षेत्रमा भूकम्पको जोखिम बढी रहेको उनको भनाई छ। राससको सहयोगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad