नेपाली सेनाले विभिन्न अक्सिजन प्लान्टमा आफ्नो जनशक्ति खटाएको छ। कोरोना संक्रमितको उपचारका लागि अक्सिजन अभाव भएपछि बन्द रहेका अक्सिजन प्लान्ट र सञ्चालनमा रहेकालाई पूर्ण क्षमतामा सञ्चालन गर्नका लागि सेनाले सहयोग गरेको हो।
थानकोटको अक्सिटेक अक्सिजन प्लान्टमा पदिकको कमाण्डमा ७ जना खटाएको छ। यो प्लान्टको क्षमता ८० घन मिटर हो।
काभ्रेको नवज्योति अक्सिजन प्लान्टमा बिल्लादारको कमाण्डमा ८ जना र रुपन्देहीका तीन वटा प्लान्टमा ३५ जना अटाएको जंगि अड्डाले जनाएको छ।
शंकर, लुम्बिनी इन्डस्ट्रिज र लुम्बिनी अक्सिजन प्रालिमा सेनाले जनशक्ति खटाएको हो। शंकरबाट दैनिक ५५० सिलिन्डर, लुम्बिनी इन्डस्ट्रिजबाट २८८ र लुम्बिनी अक्सिजन प्रालिबाट दैनिक २८८ सिलिन्डर अक्सिजन उत्पादन भइरहेको छ।
कोरोना संक्रमित बिरामीको संख्या बढेपछि सीसीएमसी, स्वास्थ्य मन्त्रालय र गृहमन्त्रालयसँगको समन्वयमा सेना परिचालन भएको हो।
सेनाले देशका विभिन्न ठाउँमा अक्सिजनका सिलिन्डर ढुवानीको काम पनि गरिरहेको छ। सेनाले हवाई र सडकमार्गबाटै सिलिन्डर ढुवानी गरिरहेको प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताए।
सेनाले हेलिकोप्टरमार्फत काठमाडौंबाट ६० वटा खालि सिलन्डर बारा र बाराबाट ४० वटा भरी सिलिन्डर काठमाडौं ल्याएको छ। सिमरा र भरतपुरबाट ४० वटा सिलिन्डर भैरहवा पुर्याएको छ।
विराटनगर चार पटक हेलिकोप्टरमा सिलिन्डर काठमाडौं ल्याइसकेको छ। सुनसरी, पोखरा, बारा लगायतका जिल्लाबाट पनि सेनाले सडकमार्गबाट पटक पटक सिलिन्डर ढुवानी गरेको जनाएको छ।
प्रतिक्रिया