मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाग्लुङको गलकोट–८ पचुवा निवासी ३७ वर्षीय जय कँडेल र ३५ वर्षीय मीन कँडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
चितवनको मुग्लिनबाट तनहुँको आँबुखैरेनीतर्फ आउँदै गरेको ना३ख ९९७३ नंको ट्रक आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरास्थित आँपचौर घुम्तीबाट करीब १०० मिटर तल खस्दा सो दुर्घटना भएको हो।
घटना रातिको समयमा घटेको भए पनि प्रहरीलाई आज मात्रै जानकारी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए।
मृतक जय कँडेल ट्रक चालक र मीन कँडेल सहचालक रहेको मृतकका साहिलो भाइ हिरा कँडेलले जानकारी दिए। गाउँको घर बाग्लुङ भए पनि हाल डेरा गरी चितवनमा बस्दै आएको उनले बताए।
उनका अनुसार दुवै दाजुभाइ पराल लोड गरेर पोखरातर्फ गएका थिए। मृतक दुवै एकै घर परिवारका दाजुभाइ हुन्। मृतक दुवैको शवपरीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ। रासस

प्रतिक्रिया