समाज


प्रहरीको सक्रियतामा साढे ५ हजार थान अक्सिजन सिलिन्डर संकलन

प्रहरीको सक्रियतामा साढे ५ हजार थान अक्सिजन सिलिन्डर संकलन

नेपालखबर
बैशाख २७, २०७८ सोमबार १४:१८,

नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट हालसम्म ५ हजार ४ सय ३२ थान अक्सिजन सिलिन्डर संकलन गरिएको छ। ती मध्ये १ हजार ४ सय ४१ भरी र ३ हजार ९ सय ९१ खाली सिलिन्डर रहेका छन्।

संकलन गरिएका सिलिन्डरमध्ये ४ हजार ५ सय ८९ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ।

बाँकी रहेका ८ सय ४३ अक्सिजन सिलिन्डरहरु जिल्ला संकट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकता अनुसार वितरण गरिने छ। कतिपय खाली सिलिन्डरलाई भर्नका लागि डिपोमा समेत पठाइएको प्रहरीले जनाएको छ।

आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने अस्पताल, व्यक्ति लगायत अन्य संघसंस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर नियन्त्रणमा लिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको संख्या अनुसार वितरण गरिएको हो।

विश्वव्यापी रुपमा फैलिँदै गइरहेको नयाँ भेरियन्ट सहितको कोभिड–१९ को दोस्रो चरणको संक्रमणको कारण महामारीले चरम रुप लिइरहेको विषम परिस्थितिमा यसको संक्रमण रोकथाम, नियन्त्रण तथा संक्रमण फैलिन नदिनका लागि राज्यको सम्पूर्ण संयन्त्र पूर्ण रुपमा प्रयासरत रहेको अवस्थालाई ध्यानमा राखी नेपाल प्रहरीले समेत सक्रियता बढाएको हो।

प्रहरीका अनुसार स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनका लागि स्टक राख्ने व्यक्ति तथा सम्बन्धित निकायलाई आवश्यक कारबाहीका लागि थप अनुसन्धान समेत भइरहेको छ। जथावाभी तवरबाट स्टक गरी प्रहरी कारबाहीमा फेला परेमा सम्बन्धित व्यक्ति वा निकायउपर प्रचलित ऐन कानुन बमोजिम कारबाही समेत हुनेछ।

यस विषम परिस्थितिमा अन्य प्रयोजनका लागि स्टक नगर्न तथा विभिन्न कम्पनी, संघसंस्था तथा व्यक्तिहरूसँग आवश्यकता भन्दा बढी सिलिन्डर छन् भने त्यस्ता सिलिन्डरहरू उपलब्ध गराई सहयोग गर्न नेपाल प्रहरीले अनुरोध समेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad