समाज


टोखा नगरपालिकाले सञ्चालनमा ल्यायो अक्सिजनसहितको १५ शय्यायुक्त आइसोलेसन केन्द्र

टोखा नगरपालिकाले सञ्चालनमा ल्यायो अक्सिजनसहितको १५ शय्यायुक्त आइसोलेसन केन्द्र

नेपालखबर
बैशाख २४, २०७८ शुक्रबार ८:२२,

टोखा नगरपालिकामा अक्सिजनसहित आइसोलेसन केन्द्र सञ्चालनमा आएको छ।

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकाले दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै आजदेखि अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको हो ।

नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले वडा नं २ स्थित टोखा प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनसहित १५ श्ययाको आइसोलेशन सेन्टर निर्माण गरिएको जानकारी दिइन्।

‘डाक्टर र औषधसहित निर्माण गरिएको आइसोलेसन केन्द्रमा आजैदेखि टोखाका कोरोना सङ्क्रमित बिरामीको उपचार हुनेछ’, उनले भनिन्।

बिरामीको अवस्था हेरेर उक्त स्वास्थ्य केन्द्रमा ५० शय्याको आइसोलेसन केन्द्र निर्माण गरिने उपप्रमुख डङ्गोलको भनाइ छ।

सो नगरपालिकाले नगर उपप्रमुख डङ्गोलको संयोजकत्वमा आइसोलेसन सेन्टर व्यवस्थापन तथा अनुगमन समिति निर्माण गरी कोभिडका बिरामीको उपचारका लागि सम्भावित स्थानको अध्ययन गरिरहेको छ । यस्तै नपाले बढ्दो कोरोना सङ्क्रमितलाई ध्यानमा राखेर अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र निर्माण गर्न लागेको छ।

नगरपालिकाले कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)सँगको सहकार्यमा नयाँ भेरियन्टको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएसँगै वडा नं ७ स्थित राधा स्वामी भवनभित्र अक्सिजन थेरापीका लागि आइसोलेसन केन्द्र स्थापना गर्न लागेको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिए।

‘अक्सिजन थेरापीसहित आइसोलेशन केन्द्र स्थापना भएसँगै अक्सिजनको मात्रा कम भएका बिरामीलाई अक्सिजन उपलब्ध गराउन सहज हुन्छ’, उनले भने।

राधा स्वामी भवनभित्र बन्न लागेको अक्सिजन थेरापीसहितको आइसोलेशन केन्द्र ८० शय्याको हुने नगरपालिकाले जनाएको छ।

उक्त नगरपालिकाभित्रका जनप्रतिनिधि तथा कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि यही वैशाख ३० गतेसम्मका लागि अत्यावश्यकबाहेक अन्य सेवा बन्द गरिएको छ ।

यस्तै सो नगरपालिकाले दोस्रो चरणको कोरोनाबाट गम्भीर रहेका बिरामीको उपचारका लागि स्थानीय तहभित्रका निजी अस्पतालसँग सहकार्य गर्ने भएको छ ।

नपाले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी, ग्रिनसिटी अस्पताल बसुन्धरा, अल नेपाल अस्पताल सामाखुशी, विनायक अस्पताल तथा प्रसूति गृह गोङ्गबुसँग टोखाभित्रका सङ्क्रमित बिरामीलाई उपचारका लागि सहजीकरण गर्ने नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले बताए। उत्तरमा नुवाकोटसँग सिमाना जोडिएको टोखामा ११ वडा रहेका छन् ।

उपप्रमुखको गाडीले कोरोना नभएका बिरामी बोक्ने
नगर उपप्रमुख ज्ञानमाया डङ्गोलको गाडीले कोरोना नभएका बिरामी बोक्ने भएको छ । देशभर कोरोना सङ्क्रमित बिरामी बढेसँगै सरकारले निषेधाज्ञा जारी गरेपछि अस्पताल जान गाह्रो भएका बिरामी बोक्नका लागि उक्त गाडी प्रयोग गरिनेछ ।

नगर उपप्रमुख डङ्गोलले डाइलोसिस, डेलिभरीलगायतका अत्यावश्यक बिरामीलाई घरबाट अस्पताल लैजान तथा अस्पतालबाट घर ल्याउनका लागि आफ्नो गाडीको प्रयोग गरिने जानकारी दिइन्।

‘कोरोना महामारी र विपद्को समयमा जनताको सेवा गर्नु जनप्रतिनिधिको मुख्य धर्म हो, म आफू गाडी प्रयोग नगरी बिरामीको सेवाका लागि आजैदेखि दिन्छु’, उनले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad