समाज


मेचीको कोभिड अस्पतालमा छैन शय्या अभाव

मेचीको कोभिड अस्पतालमा छैन शय्या अभाव

नेपालखबर
बैशाख २२, २०७८ बुधबार ९:२६,

झापामा कोरोना संक्रमित दिनहुँ बढिरहेका छन्। तर अधिकांश संक्रमित होम आइसोलेसनमा बसेका कारण सरकारी कोभिड अस्पतालमा उपचारका लागि भर्ना हुने बिरामीको खासै चाप छैन।

भद्रपुरको मेची प्रादेशिक अस्पतालमा ७५ श्ययाको छुट्टै कोभिड उपचार केन्द्र सञ्चालन भइरहेको छ। जहाँ मंगलबारसम्म २२ जना कोरोना संक्रमित उपचारका लागि भर्ना भएका छन्। भर्ना भएकामध्ये ११ जनालाई अक्सिजन सपोर्ट दिनुपरेको छ।

अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले संक्रमितको संख्या बढिरहेको आधारमा भविष्यमा केही भन्न नसकिए तापनि हाल उपचारका लागि श्ययाको कुनै अभाव नरहेको बताए।

मेची अस्पतालमा कोभिडको निःशुल्क उपचार भइरहेको र पीसीआर परीक्षण सुविधासमेत उपलब्ध रहेको छ। एक हजार जनाको दैनिक कोरोना भाइरस जाँच गर्ने क्षमता भएको पिसिआर प्रयोगशालामा हाल दिनहुँ २०० भन्दा कम मानिसले सुविधा लिइरहेका छन्।

अस्पतालमा अत्याधुनिक सुविधायुक्त एउटा भेन्टिलेटर, तीनवटा आइसीयु र २५ वटा एचडियु कक्ष रहेको अध्यक्ष पोर्तेलले जानकारी दिए। हाल ७५ श्ययाको छुट्टै कोभिड उपचार केन्द्रमा कोरोना सङ्क्रमितको उपचार भइरहेको जनाउँदै उनले आवश्यकताअनुसार २५ शय्याको एचडियूसमेत कोभिडका बिरामीको उपचारमा लगाइने बताए ।

अस्पतालको पुरानो भवनमा एचडियु, आइसियु र पिसिआर प्रयोगशाला राखिएको छ। नजीकै निर्माणाधीन भवनमा कोभिड उपचार केन्द्र सञ्चालित छ।

कोभिड उपचार केन्द्रमा अक्सिजन सपोर्ट र चिकित्सक तथा नर्सिङ सेवाको व्यवस्था रहेको छ। अस्पतालमा वैशाख महिनाभित्र सञ्चालनमा ल्याउने गरी प्रदेश नं १ सरकारको रु ७५ लाखको लगानीमा अक्सिजन प्लान्ट निर्माणाधीन छ।

अस्पतालका लेखा अधिकृत मनोज पोखरेलका अनुसार दैनिक ३५ वटा सिलिन्डर भर्न सक्ने क्षमताको आफ्नै अक्सिजन प्लान्ट बनाउन लागिएको हो। ठूला र साना गरी ४७ वटा अक्सिजन सिलिन्डर हाल अस्पतालमा रहेको र दैनिक २० देखि २५ वटासम्म खपत हुँँदै आएको छ।

दुई साता मेची अस्पतालको कोभिड उपचार केन्द्रमा बसेर स्वस्थ भएका पत्रकार दयाराम दाहालले सरकारी अस्पतालले कोभिडको उपचारमा चिकित्सक र नर्सको सहायता बढाउनुपर्ने सुझाव दिएका छन्।

‘मैले त्यहीँ बसेर कोभिड निको भएँ’, पत्रकार दाहालले उपचार पाउँदाको अनुभव सुनाउँदै भने, ‘पौष्टिक खाना, खाजा र शय्या ठिकै थियो। तर भवन अपूरो छ, सरसफाइ राम्रो छैन। यसमा व्यवस्थापनको ध्यान जानुपर्छ।’

गत वर्ष कोभिड संक्रमित भएपछि उपचारार्थ भर्ना भएका पत्रकार गणेशमान मुखियाले अक्सिजनको लेभल न्यून भएर अधिकांश कोरानाको बिरामी अस्पताल पुग्ने बताउँदै पर्याप्त अक्सिजनको व्यवस्था मिलाउन सुझाव दिए।

उनले निर्धारित समयमा औषधि, जुनसुकै बेला तातोपानी र आवश्यकता अनुसार चिकित्सक तथा नर्सको सेवा उपलब्ध गराउन सके सरकारी कोभिड अस्पतालप्रति जनविश्वास बढ्ने बताए।

एक सातामै चार गुणा बढे संक्रमित
झापामा कोरोना संक्रमितको दर भने ज्यादै बढेको छ। एक सातामा चार गुणा संक्रमित बढेको सरकारी तथ्यांकले देखाएको छ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंका अनुसार सात दिनअघि वैशाख १४ गते जिल्लामा संख्या मितको संख्या १९५ रहेको थियो। तर मंगलबार यो संख्या बढेर ७४१ पुगिसकेको छ। यो साता ५४६ जना संक्रमित बढेका हुन्।

करीब एक महिनाअघि झापामा कोभिड–१९ को दोस्रो लहरबाट प्रभावित सङ्क्रमितहरु देखा पर्न थालेका थिए। त्यसयता लगातार गुणात्मक रुपमा संक्रमण फैलिइरहेको छ। एक महिनाअघि जिल्ला स्वास्थ्य कार्यालयले झापामा संक्रमितको संख्या मात्र १३ रहेको जनाएको थियो।

विगत सात दिनमा संक्रमण निकै फैलिएको छ। खुला सीमा भएकाले भारतबाट आउने र काठमाडौंबाट घर फर्किनेको संख्या बढेसँगै झापामा संक्रमण फैलिएको हो। झापामा गत वर्ष कोरोनाको पहिलो लहर शुरु भएयता १३६ जनाको यही संक्रमणबाट मृत्यु भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad