ad ad

समाज


बैतडी दुर्घटना : वडा सदस्यको शोकमा डुबेको रोडिदेवल ५ जनाको मृत्युले स्तब्ध!

बैतडी दुर्घटना : वडा सदस्यको शोकमा डुबेको रोडिदेवल ५ जनाको मृत्युले स्तब्ध!

गोकुल जोशी
बैशाख २१, २०७८ मंगलबार १४:४६,

बिजुलीको सुविधा नरहेको बैतडीको पञ्चेश्वर गाउँपालिका–६ रोडीदेवलमा हालै बिजुलीको पहुँच पुगेको छ।

बिजुली पुगेपछि वडा सदस्य गोविन्द भण्डारीले केही दिन अगाडि आफ्नो घर नजिकै ‘आटा चक्की’ खोलेको थिए।

‘चक्की’मा पिसानी, कुटानी गर्ने गाउँलेहरुको भीडभाड नै हुन्थ्यो। सोमवार बेलुका पिसानीका लागि चक्कीमा गहुँ, चामल छोडेका थिए, गाउँलेले। एकै छिनमा बाहिर पानी पर्न थाल्यो।

पिसानीका दिएका चक्कीमा खाद्यान्नलाई ओतमा राख्न घरबाट वडासदस्य चक्कीतर्फ जाँदै थिए। उनको घर चक्की रहेको ठाउँको करिब दुई सय मिटर टाढा छ। भण्डारी चक्कीको आँगनमा नपुग्दै ठहरै लडेको पञ्चेश्वर गाउँपालिका–६ कै वडा सदस्य कृष्ण सिंह भण्डारी सम्झिन्छन्।

‘पसल नजिकै ट्रान्सफर्मर थियो। बिजुली भर्खरै आएकाले त्यस बारेमा हामीलाई त्यत्ति ज्ञान थिएन’ उनले नेपालखबरसँग भने, ‘ट्रान्सफर्मरमा परेको चट्याङ लागेर गोविन्दजीले चक्कीको आँगनमै केही नबोल्दै प्राण त्याग्नु भएको थियो।’

घटनाको खबरपछि प्रहरी टोली त्यहाँ पुगेको थियो। पञ्चेश्वरको अस्पतालमा पोष्टमार्टमको सुविधा नहुनाले शवलाई जिल्ला अस्पताल ल्याउनु पर्ने थियो।

‘उहाँ धामी पनि हुनुहुन्थ्यो। त्यसैले पोष्टमार्टम गर्दा शरीर चिरफार गरिने हुँदा परिवारले नगर्ने भनेको थियो’ वडा सदस्य कृष्णसिंह भण्डारीले नेपालखबरसँग भने, ‘तर कानूनी प्रक्रिया पुर्‍याउन प्रहरीले पोष्टमार्टम गर्नु पर्ने भनेपछि मात्रै परिवार राजी भएको थियो।’

चट्याङ लागेर वडा सदस्यको मृत्युको शोकबाट नउम्किदै रोडीदेवल गाउँमा मंगलवार फेरि ठूलो बज्रपात पर्‍यो।

पोष्टमार्टमका लागि सदरमुकाम गोठलापानी ल्याउँदै गर्दा शव बोकेको से १ ज १८३ नम्बरको जिप घर नजिकै गड्मेश्वर मोडमा दुर्घटनामा परी ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

मृत्यु हुनेमा ५० वर्षीय जीतसिंह भण्डारी, ३० वर्षीय डम्बरसिंह भण्डारी, २७ वर्षीय हिक्मत भण्डारी, ४० वर्षीय दीपक भण्डारी, ५० वर्षीय खेमसिंह भण्डारी र जिप चालक २४ वर्षीय तेजबहादुर बोहरा रहेको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

उनका अनुसार जिप चालक बोहरा र खेम सिंहकोे उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो। प्रहरीका अनुसार मृतक चालक दशरथचन्द नगरपालिकाका हुन् भने अन्य सबै रोडीदेवलका हुन्।

दुर्घटनामा परी अन्य ४ जना घाइते भएका छन्। घाइते हुने सोही ठाउँका ३५ बर्षीय मोहनसिंह भण्डारी, ३० बर्षीय हरिसिंह भण्डारी, २८ बर्षीय मदनसिंह भण्डार र २४ बर्षीय दिलिपसिंह भण्डारी रहेका छन्। उनीहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

शव बोकेर हिँडेको ४ किलोमिटर दूरी पार गर्न नपाउँदै जिप दुर्घटनामा परेको थियो। वडा सदस्यको मृत्युले शोकमा डुबेको गाउँका अन्य ५ जनाका लागि जिप काल बनेपछि रोडिदेवलमा सन्नाटा छाएको छ।
‘ड्राइभरलाई बाटोको अनुभव रहेनछ’

घुम्तीमा गाडी अनियन्त्रित भएर दुर्घटना भएको वडा सदस्य भण्डारी बताउँछन्।

‘गड्मेश्वरको घुम्ति ज्यादै खतरनाक छ। बाटो पनि कच्ची छ। यहाँ चलाएका ड्राइभरहरु त मोडको बारेमा थाहा पाएर विस्तारै लैजाने गर्दछन्’ उनले नेपालखबरसँग भने, ‘हामीले ड्राइभर नपाएर दशरथचन्द नगरपालिकाबाट मगाएका थियौँ। उहाँलाई यो सडकखण्डको मोड बारे अनुभव रहेनछ। नयाँ हुनुहुँदो रहेछ। हामी पनि हतार हतार भएकाले बताउनै बिर्सियौँ। त्यहीँ मोडबाट जिप तल खस्यो।’

शव बोकेको गाडीको पछि पछि जिल्ला प्रहरी र पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दको गाडी रहेको उनले बताए। शव बोकेको जिपमा १० जना सवार थिए।

‘पोष्टमार्टम पछि घरमा ल्याएर दाहसंस्कार गर्ने सोचेका थियौँ। तर गाउँका अरु पाँच जनाको पनि एकै चिहान भएको छ’ उनले नेपालखबरसँग भने, ‘दाहसंस्कारका लागि पोष्टमार्ट गरेको शव ल्याउन गएकाहरु नै शव बनेर आउँदै छन्। पुरै गाउँमा सन्नाटा छाएको छ।’

के भन्छ प्रहरी?
उता प्रहरीले दुर्घटनाको कारण साँघुरो घुम्ति रहेको बताएको छ।

‘साँघुरो घुम्ति छ। मोड्ने बेला ब्याक गरेर मोड्नु पर्ने हुन्छ’ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले नेपालखबरसँग भने, ‘ब्याक गर्ने बेला पछाडी बाटै गाडी सडक भन्दा तल खसेको खुलेको छ।’

यो पनिः बैतडी जिप दुर्घटना (अपडेट) : मृतककाे संख्या ६ पुग्यो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .