समाज


तीन दिनसम्म भारी वर्षाको सम्भावना, होसियारी अपनाउन आग्रह

तीन दिनसम्म भारी वर्षाको सम्भावना, होसियारी अपनाउन आग्रह

नेपालखबर
साउन ३२, २०७६ शनिबार २:१६,

आज (शनिबार) बेलुकादेखि देशभर मौसमी गतिविधि बढ्ने र तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार आज बेलुका मनसुनको न्यून चापीय रेखाको पश्चिमी कुना आफ्नो औसत स्थानबाट उत्तर सर्ने सम्भावना रहेकाले नेपालमा बेलुकादेखि पर्सिसम्म मौसमी गतिविधि तीव्र हुने देखिएको हो।

‘आज बेलुका न्यून चापीय रेखाको पश्चिमी कुना आफ्नो साविक स्थानबाट केही उत्तर आउने देखिएको छ,’ शनिबार बिहान मौसमविद् श्रेष्ठले नेपालखबरसँग भने, ‘त्यसकारण आज रातिदेखि बाट पर्सि (सोमबार) सम्म वर्षा हुने क्रम र मात्रा बढ्ने सम्भावना छ।’

मौसमविद्का अनुसार औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड, पश्चिम बंगाल र बंगालको खाडीको शिरसम्मलाई बुझाउँछ।

‘नेपाल नजिकै आइपुग्ने त होइन, नेपाल नजिकै आयो भने त अविरल वर्षा हुन्छ,’ मौसमविद् श्रेष्ठले भने,’ औसत स्थानबाट केही उत्तर नेपालतर्फ सर्ने हो, यसैकारण त्यस्तो लगातार वर्षा त हुँदैन, तर भारी वर्षा चाहिँ हुन्छ।’

आज कहाँ-कहाँ पानी पर्छ?
अहिले देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्यसम्म मौसम बदली भएको छ भने यतिबेला पश्चिमी पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै मौमस महाशाखाले भनेको छ- ‘देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ।’

‘देशको पहाडी भूभागका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ। जसले गर्दा चुरेबाट बहने नदीमा बहाव वृद्धि हुन सक्ने भएकोले नदी आसपासमा रहनेहरु सतर्क रहनुहोला,’ महाशाखाको सूचनामा भनिएको छ– ‘यसका साथै सडक यातायातमा पहिरो/भू-क्षयका कारण अवरोध आउन सक्ने भएकाले सो क्षेत्रमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।’

आज विशेष गरी देशको पहाडी क्षेत्रमा मेघ गर्जन/चट्याङसहित पानी पर्ने सम्भावना छ भने पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले बताए।

यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमान

श्रावण ३२ गते शनिबार
दिउँसो : देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशका पूर्वी तथा मध्य पहाडी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति : देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशका पूर्वी तथा मध्य भूभागका थोरै स्थानहरुमा तथा पश्चिमी पहाडी भूभागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

भाद्र १ गते आइतबार
दिउँसो : देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा र पुर्वी र मध्य क्षेत्रका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमी तथा पुर्वी भूभागको थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

राति : देशका अधिकांस स्थानहरुमा सामान्यतया बदली रही देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पहाडी भूभागको एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

भाद्र २ गते सोमबार
दिउँसो : देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका पूर्वी क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पश्चीमी क्षेत्रका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पुर्वी तथा मध्य भूभागको थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

राति : देशका अधिकांस स्थानहरुमा सामान्यतया बदली रही देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पहाडी भूभागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ। -माैसम पूर्वानुमान महाशाखा

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad