छापा खबर


१०३ वर्षीया हजुरआमा दाम्लो बाटेर कमाउँछिन् मासिक तीन हजार

१०३ वर्षीया हजुरआमा दाम्लो बाटेर कमाउँछिन् मासिक तीन हजार

नेपालखबर
साउन ३२, २०७६ शनिबार २:२१,

सेत्तै फुलेको कपाल। चाउरी परेको अनुहार। शारीरिक अवस्था कसैको सहाराबिना हिँडडुल गर्न नसक्ने जस्तो देखिन्छ।

तर १०३ वर्षीया देवी सुनुवारको जाँगर तन्नेरीको भन्दा कम छैन। सिन्धुलीको कमलामाई नगरपालिका दसजहान टोलकी सुनुवारले मासिक तीन हजार कमाउँछिन्।

उनको काम घरमै बसेर दाम्लो बाट्ने हो। उनको आम्दानीको स्रोत दाम्लो बिक्रीबाट आएको रकम हो। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा राजन गाउँलेले लेखेका छन्।

आँगनबाट टाढा जान नसक्ने सुनुवारको हातमा दाम्लो बाट्ने काठको साँचो र बोराका डोरी कहिल्यै छुट्दैनन्। उमेरमा बसिबियाँलो गर्दा सिकेको काम अहिले आम्दानीको स्रोत बनेकोमा उनी खुसी छिन्।

१९७३ सालमा रामेछापमा जन्मिएकी सुनुवारको १४ वर्षको उमेरमा विवाह भएको थियो।

‘माइतीमा हुँदा खानलाउन पुग्थेन। बुबालाई दाम्लो बाट्न सघाउने गर्थें। विवाह गरेर सिन्धुली आएपछि घरमा मसलाको जोहो गर्न दाम्लो बाट्ने गरेकी थिएँ’, उनले विगत सम्झँदै भनिन्, ‘अहिले बाहिर हिँड्न नसक्ने भएँ, समय कटाउन दिनभर दाम्लो बाट्छु।’

हेर्दा निकै कमजोर देखिए पनि सुनवारको काम गर्ने शक्ति र जाँगरमा भने कमी आएको छैन। आफूले बाटेका दाम्लो बिक्रीबाट तीन हजारभन्दा बढी आम्दानी हुने गरेको सुनुवार बताउँछिन्।

‘अहिले पनि त्यतिकै दिन काट्न मुस्किल हुन्छ। सुतौं झन् शरीर थलिए जस्तो लाग्छ। बरु काम गरेर बस्यो भने समय पनि बितेको थाहा हुँदैन। दाम्लोबाट आएको रकमले महिनाभर फलफूल खान पुग्छ’, उनले भनिन्।

सुनुवारले दिनमा २ देखि ४ वटा दाम्लो बाट्ने गरेकी छन्। एउटा दाम्लो २५ देखि ५० रुपैयाँसम्ममा बिक्री हुने उनी बताउँछिन्। ‘सानो र छोटो दाम्लोको २५ रुपैयाँ दिन्छन्। गाईभैंसी बाँध्ने दाम्लोको ५० रुपैयाँमा किन्छन्,’ उनले भनिन्। गाउँले दाम्लो किन्न उनको घरमै पुग्छन्।

सुनुवारको वृद्धभत्ता पनि आउँछ। बाथरोग भएका कारण भत्ताको पैसा औषधि खाँदै ठिक्क हुन्छ। उनी भन्छिन्, ‘भत्ताले औषधि खान्छु। दाम्लो बाटेको पैसाले खान मन लागेको कुरा नातिनातिनालाई किन्न लगाउँछु।’ सुनुवारका ६ मध्ये तीनको निधन भएको छ। पतिको निधन पहिले नै भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad