समाज


शुक्रबार ३३ सयले छाडे काठमाडौँ, १८ सय भित्रिए

शुक्रबार ३३ सयले छाडे काठमाडौँ, १८ सय भित्रिए

नेपालखबर
बैशाख १७, २०७८ शुक्रबार १६:९,

निषेधाज्ञाको दोश्रो दिन शुक्रबार ३३ सय ५८ जनाले उपत्यका छाडेका छन्। उनीहरु शुक्रबार बिहान ५ बजेदेखि साँझ ५ बजेसम्ममा उपत्यकाका विभिन्न नाकाबाट बाहिरिएको प्रहरीले जानकारी दिएको छ।

नागढुंगा नाकाबाट मात्रै २१ सय २६ जनाले काठमाडौं छाडेका छन्। फर्पिङबाट ४२, जगातीबाट ७२६, मुड्खुबाट १६८ र साँखुबाट २९६ जना बाहिरिएका छन्। शुक्रबार नै १८ सय ३० जना काठमाडौँ आएका छन्।

उपत्यका प्रवेश गर्ने नाकाका प्रहरीको तथ्यांक अनुसार नागढुंगाबाट ९०९ जना, जगातीबाट ६२७ जना र साँखुबाट २९४ जना शुक्रबार काठमाडौं आएका हुन्। अन्य नाकाबाट भने शुक्रबार कोही पनि काठमाडौं प्रवेश गरेका छैनन्।

सरकारले उपत्यकासहित विभिन्न जिल्लामा लकडाउन गरेपछि आवतजावत ठप्प जस्तै भएको छ। यसरी काठमाडौं प्रवेश गर्नेहरु अत्यावश्यक कामका र सरकारले तोकेको मापदण्डभित्र पर्ने रहेको नागढुंगा प्रहरीले जनाएको छ। उपत्यकामा सरकारले निषेधाज्ञा घोषणा गरेपछि मंगलबार र बुधबार दैनिक ५० हजार बढीले राजधानी छाडेका थिए।

महानगरीय प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता सुशीलसिंह राठौरले निषेधाज्ञामा आवतजावतलाई कडाइ गरिएको बताएका छन्।

शुक्रबार ८७ वटा एम्बुलेन्स बिरामी लिएर काठमाडौं प्रवेश गर्दा ६६ वटा बाहिरिएका छन्। खाद्यन्न बोकेका ४८० वटा सवारी काठमाडौं प्रवेश गरेको र ४१० वटा बाहिरिएको, ग्यासका ५९ वटा बुलेट प्रवेश गरेको र ५३ वटा बाहिरिएको तथा पेट्रोलियम पदार्थका २८ वटा ट्यांकर काठमाडौं आउँदा ३० वटा बाहिरिएका छन्।

यी बाहेक अन्य २८८ वटा सवारी काठमाडौं प्रवेश गरेको र ४२८ वटा काठमाडौंबाट गएको प्रहरीले जनाएको छ।

अटेर गर्नेलाई कारबाही
प्रहरीले निषेधाज्ञाको उल्लंघन गर्ने सर्वसाधारण तथा सवारीमाथि कारबाही जारी राखेको छ। शुक्रबार उपत्यकाका तीन जिल्लामा ३ हजार ६ सय ४६ जनालाई प्रहरीले कारबाही गरेको छ। उनीहरुलाई केही समय सडकमै उभ्याएर छाडिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसपी राठौरले बताए।

यस्तै शुक्रबार १५ सय ४३ दुई पांग्रे, ४०४ साना चार पांग्रे सवारी र १३६ ठूला सवारी कारबाहीमा परेका छन्।

कोभिड संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीले सडकमा सचेतनामूलक कार्यक्रम समेत गरिरहेको छ।

प्रहरीले शुक्रबार १६ हजार ६ सय ६४ जनालाई निशुल्क मास्क वितरण गरेको छ। मास्क नलगाई हिँडडुल गर्ने ४५ हजार ७ सय ७७ जनालाई होल्डिङ जोनमा राखी सम्झाइ बुझाई छाडिएको छ। मापदण्ड उल्लंघन गर्ने ८ हजार २४ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना तिराएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad