विशेषज्ञका अनुसार कोरोना संक्रमणका बिरामीमध्ये ८० प्रतिशतभन्दा बढी व्यक्ति घर अर्थात् होमआइसोलेसनमै निको भइरहेका छन्। हल्का लक्षण भएका संक्रमित निको हुन करिब २ हप्ता लाग्छ। यसकारण कोरोनाका बिरामी आत्तिन पर्दैन। कोरोनाका हल्का लक्षण देखिनासाथ सावधानी अपनाइहाले १४ दिनमा निको हुन सकिन्छ।
विशेषज्ञ भन्छन् : यदि तपाईंमा कोरोनाका सामान्य लक्षण (रुघाखोकी, ज्वरो, घाँटी दुख्ने, मांसपेसीमा दुखाइ, गन्ध तथा स्वाद थाहा नपाउने) देखिएका छन् भने आइसोलेट भइहाल्नुस् अर्थात् घरमा एक्लै अलग्गै बस्नुस् र कोरोना जाँच गराइहाल्नुस्।रिपोर्ट पोजिटिभ आयो भने केही कुरामा ध्यान पुर्याउनुस् र डाक्टरको सल्लाह लिनुस्।
यसै सन्दर्भमा भारतीय पत्रिका अमर उजालाले उजाला सिग्नस हस्पिटलमा कार्यरत डा. परवेश मलिकका सल्लाह प्रकाशन गरेको छ। हाम्रा लागि पनि उपयोगी हुने भएकाले यहाँ प्रस्तुत गरिएको हो।
संक्रमणको सुरुवातमा के गर्ने?
दिनभरिमा ३ देखि ४ लिटरसम्म मजाले उमालिएको तातोपानी (पिउन सक्ने भएपछि) पिउने। पानीमा ज्वानो राखेर दिनमा तीन/चारपटक वाफ लिने तथा नुनपानीले ३/४ पटक गरर्र गर्ने। यसले भाइरसलाई कमजोर पार्न सक्छ, जसले गर्दा शरीरमा गम्भीर असर पार्न नसकोस्।
स्वस्थ खाना खानुस्
विश्व स्वास्थ्य संगठनका अनुसार खानामा ताजा फलफूल, अप्रशोधित खानेकुरा, दाल, सिमी, मकै, कोदो, गहुँ, आलु, हरिया सागसब्जी, मुसुरो, जुनेलो, सखरखण्ड, एभोकाडो आदि समावेश गर्नुहोस्। यसबाट तपाईंलाई अवाश्यक पर्ने फाइबर, प्रोटिन, भिटामिन, एन्टिअक्सिडेन्ट र खनिज तत्त्व प्राप्त हुन्छ। साथै माछा, जैतुनको तेल, भटमास, सूर्यमुखी तथा मकैको तेल पनि खानामा समावेश गर्दा राम्रो।
यी चिज नखानुस्
संक्रमणका बेला प्रशोधित खानेकुरा, तयारी खानेकुरा, भुटे/तारेका चिज, फ्रोजन पिज्जाजस्ता खानेकुरा खानु हुँदैन। यस्ता खानेकुराले स्वास्थ्य समस्या बढाउन सक्छन्, खासगरी पेटसम्बन्धी।
यी कुरामा पनि ध्यान दिनुस्
संक्रमण सुरुवातका ४ दिन आफ्नो अक्सिजन मात्रा, रक्तचाप र शरीरको तापक्रम मापन गर्न नबिर्सने। यदि तपाईं मधुमेह (डायबिटिज) को बिरामी हुनुहुन्छ भने दिनमा दुईपटक सुगर पनि चेक गर्नुस्। यसबाहेक सबैभन्दा जरुरी कुरा फोक्सोलाई स्वस्थ राख्न व्यायाम र योग गर्नुस्, साथै प्रशस्त मात्रामा आराम गर्नुस्। साथै डाक्टरको सल्लाहअनुसार औषधि खानुस्, आफूखुसी कुनै औषधि नलिनुस्।
डाक्टरका अनुसार यो कोरोनाको दोस्रो लहरमा संक्रमितलाई धेरै दिनसम्म ज्वरो आउन सक्छ, यस्तोमा आत्तिन पर्दैन। तर डाक्टरको सल्लाह लिइहाल्नुपर्छ। सबैभन्दा जरुरी कुरा हो- आफ्नो अक्सिजनको मात्रा जाँच गरिरहनुपर्छ। यदि अक्सिजनको स्तर ९६ भन्दा माथि छ भने सबै कुरा ठीक छ, तर यसको मात्रा लगातार घटिरहेको छ भने तुरुन्त डाक्टरसँग सम्पर्क गर्ने वा अस्पताल भर्ना हुने।
संक्रमणको पाँचौंदेखि नवौं दिनसम्म के गर्ने?
यस अवधिमा ज्वरो कम हुन थाल्छ, तर यसबीच धेरैजसो बिरामीलाई कम्मर दुख्ने, पूरै जीउ दुख्ने समस्या भइरहेको छ। यसमा पनि आत्तिन पर्दैन। भरपूर मात्रामा प्रोटिनयुक्त खानेकुरा खाइरहने र नियमित व्यायाम गरिरहने। साथै यसअघि बताइएका कुराको ‘फलो’ गरिरहने जस्तो : अक्सिजनको मात्रा, रक्तचाप तथा शरीरको तापक्रम।
यी कुरामा पनि ध्यान दिनुस्
यदि तपाईं स्वस्थ महसुस गरिरहनुभएको छ, ज्वरो घटेको छ वा हराइसकेको छ भने यसको अर्थ हो– संक्रमण निको हुँदैछ। यसबीच पौष्टिक खानपान र नियमित व्यायाम जारी राख्नुस्, जसले गर्दा शरीर बलियो बनोस् र संक्रमण पूरै हटोस्। तर यति लामो दिनसम्म पनि ज्वरो आइरहेको छ वा ज्वरो हराएर फेरि आयो भने यो राम्रो संकेत होइन। यसबारे तुरुन्त डाक्टरसँग सल्लाह लिइहाल्नुपर्छ।
संक्रमणको १०औं दिनदेखि १४ दिनसम्म के गर्ने?
यदि तपाईंलाई कुनै समस्या छैन, ज्वरो, रुघाखोकी छैन, अक्सिजनको लेबल ९६ भन्दा माथि छ भने यसको अर्थ हो– तपाईं द्रुत गतिमा निको भइरहनुभएको छ, खतरामुक्त भइसक्नुभएको छ। यसबीच पनि पौष्टिक खानपान र नियमित व्यायाम भने छाड्न हुँदैन। साथै अरूसँग भेटघाट नगर्ने, एकान्तबासमै रहने। डाक्टरको सल्लाहपछि मात्र परिवारका सदस्यसँग सम्पर्क गर्नुहोस्। यो कुरा पनि ध्यान राख्न जरुरी छ– कोरोनामुक्त भइसकेर पनि कमजोरी महसुस हुन सक्छ, यसकारण खानपानमा विशेष ध्यान दिनपर्छ। जसले गर्दा शरीर भित्रैदेखि बलियो बनोस्।

प्रतिक्रिया