वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा बाराकी ३० वर्षीया महिला र सर्लाहीका ४३ वर्षीय पुरुष रहेका प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
निर्देशनालयका एक कर्मचारीका अनुसार बाराको सुवर्ण गाउँपालिका– ७ की ३० वर्षीया महिलाको मंगलबार राति १२ बजे मृत्यु भएको हो। उनलाई दुई दिन अघि अस्पतालमा भर्ना गरिएको थियो । शंकास्पद अवस्था देखिएपछि स्वाव परिक्षण गर्दा सोमबार उनमा कोरोना पुष्टि भएको थियो।
त्यसैगरी सर्लाहीको धनकौल गाउँपालिका–४ बस्ने ४३ वर्षीय एक पुरुषको पनि गए राति नै मृत्यु भएको छ। राति पौने २ बजे उनको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिए। मंगलबार मात्रै अस्पतालमा भर्ना गरिएका ती पुरुषको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको थियो।
यसअघि मंगलबार मात्र वीरगन्जमा तीनजना संक्रमितको उपचारको क्रमम मृत्युु भएको थियो।
प्रदेश २ मै पर्सा जिल्ला कोरोना संक्रमणको हटस्पट बनेको छ । संक्रमण रोक्न स्थानीय प्रशासनले बिहीबारदेखि पर्सामा लकडाउन गर्ने निर्णय गरेको छ।
बितेको तीन दिनमा नारायणी तथा नारायणी बयोधा अस्पतालमा उपचारत ११ जना सङ्क्रमितको मृत्यु भइसकेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया