भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि अक्सिजन अभाव भएको छ। अक्सिजन अभावको समस्यालाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने तयारी गरेको छ।
दिल्ली राज्य सरकारले आफ्नो राज्यका नागरिकको लागि बैंककबाट अक्सिजनको १८ ट्याङ्कर आयात गर्ने निर्णय गरेको छ। अक्सिजनको ट्याङ्कर बुधबारदेखि दिल्लीमा आउन थाल्ने मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिए।
मुख्यमन्त्री केजरीवालले बैंककबाट अक्सिजनको ट्याङ्कर ल्याउनका लागि केन्द्र सरकारसँग एयरफोर्स विमान उपलब्ध गराइदिन आग्रह गरेका छन्। केन्द्र सरकारले एयरफोर्स विमान उपलब्ध गराएको खण्डमा अक्सिजन ल्याउन सकिने उनले बताए।
दिल्ली सरकारले फ्रान्सबाट २१ वटा तत्काल प्रयोग गर्न मिल्ने अक्सिजन प्लान्ट आयात गर्न लागेको छ। त्यसले दिल्लीमा अक्सिजनको समस्या समाधान गन केजरीवाले बताए।
भारतमा दैनिक तीन लाखभन्दा धेरै कोरोना संक्रमित थपिँदै गएपछि अस्पतालमा अक्सिजनको चरम अभाव सिर्जना भएको छ। अस्पताल भर्ना भएका ९० प्रतिशत बिरामीलाई अक्सिजन आवश्यक पर्न थालेको चिकित्सकले बताएका छन्। अक्सिजनको अभावमा दिल्लीमा दैनिक सैैयौंले ज्यान गुमाइरहेका स्थानीय समाचार माध्यमहरूले जनाएका छन्।
देशमा अक्सिजन अभाब देखिएपछि भारतले तत्कालका लागि अक्सिजन निर्यातमा रोक लगाएको छ । यसबाट नेपाल, बङ्गलादेश, श्रीलङ्कालगायतका एशियाली मुलुकमा समेत अक्सिजनको अभाब हुनसक्ने जानकारहरु बताउछन्।
भारतको केन्द्र सरकारले विरामीका लागि अक्सिजनको कमी भएकोभन्दै अक्सिजन आवश्यक पर्ने कतिपय कलकारखानाहरू सञ्चालन नगर्न निर्देशनसमेत दिइसकेको छ। एजेन्सी
Shares

प्रतिक्रिया