राजनीति


अविश्वास प्रस्ताव टुंगो लगाउन लुम्बिनी प्रदेश सभामा पनि विशेष अधिवेशन आह्वान

अविश्वास प्रस्ताव टुंगो लगाउन लुम्बिनी प्रदेश सभामा पनि विशेष अधिवेशन आह्वान

नेपालखबर
बैशाख १५, २०७८ बुधबार ४:२,

लुम्बिनी प्रदेश सभामा पनि विशेष अधिवेशन आह्वान गरिएको छ।

विपक्षी दलहरूको मागअनुसार लुम्बिनी प्रदेश सभाका प्रमुखले यही वैशाख १९ गतेका लागि विशेष अधिवेशन आह्वान गरेका हुन्।

आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको सूचना पाउनासाथ मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गराएका थिए। त्यसपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले विशेष अधिवेशन आह्वान गर्न गर्दै प्रदेश प्रमुखको कार्यालयमा समावेदन गरेका थिए।

सोहीबमोजिम प्रदेश प्रमुखले वैशाख १९ गते आइतबार दिउँसो १ बजे बस्ने गरी प्रदेश सभाको विशेष अधिवेशन बोलाएका हुन्।

लुम्बिनी प्रदेश सभा सचिवालयका अनुसार विशेष अधिवेशन आह्वान गरिएको पत्र प्राप्त भइसकेकोछ, अब सभामुखसँग छलफल गरेर सूचना निकालिनेछ।

विशेष अधिवेशनले अब मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावको प्रक्रिया अघि बढाउनेछ।

अविश्वास प्रस्तावका पक्षमा कति सांसद?
लुम्बिनी प्रदेश सभामा ८७ सदस्य छन्। माओवादी केन्द्रबाट निर्वाचित २ सांसद बर्खास्त भएपछि अहिले ८५ सदस्य मात्र छन्। जसमा सबैभन्दा बढी एमालेका ४१ सांसद छन्।

यस्तै सभामुखसहित माओवादी केन्द्रका १८ र नेपाली कांग्रेसका १९ सांसद छन्। जसपाका ६ सांसद छन्। जसमध्ये अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका २ र नगरेका २ गरी ४ जनालाई मुख्यमन्त्री पोखरेलले मन्त्री बनाएका छन्।

एक सिट भएको राष्ट्रिय जनमोर्चाले पनि अविश्वास प्रस्तावकै पक्षमा रहेकाले मुख्यमन्त्री पोखरेलविरुद्ध अहिले ४० सांसद देखिएका छन्।

तर अविश्वास प्रस्ताव पारित गर्न ४३ मत आवश्यक छ। यस हिसाबले ३ सांसदको खाँचो छ।

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुँदाहुँदै उनकै नेतृत्वको सरकारमा सहभागी भएका आफ्ना ४ सांसदलाई जसपाले कारबाही गर्यो भने लुम्बिनी प्रदेश सभा ८१ सदस्यको हुनेछ। तर उनीहरूलाई कारबाही गर्ने विषयमा जसपामा बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष लागिपरेको भए पनि अध्यक्ष महन्थ ठाकुर पक्ष यसमा सहमत छैन।

कथं कारबाही भइहाल्यो भए पनि मुख्यमन्त्री पोखरेल हटाउन अझै एक सांसद पुग्दैन।

गण्डकी प्रदेश सभामा पनि अहिले विशेष अधिवेशन जारी छ।

यो पनि : गण्डकी प्रदेशमा सरकार ढाल्ने र जोगाउने दौडधुप तीव्र

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad