समाज


कैलाली र कञ्चनपुरमा एक साताका लागि निषेधाज्ञा जारी

कैलाली र कञ्चनपुरमा एक साताका लागि निषेधाज्ञा जारी

गोकुल जोशी
बैशाख १४, २०७८ मंगलबार १३:३९,

कोरोना संक्रमण तीब्र रुपमा फैलिँदै गएपछि कञ्चनपुर र कैलालीमा बिहीबारदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि दुवै जिल्ला प्रशासन कार्यालयले बिहीवारदेखि एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेका हुन्।

कोरोना संक्रमण र त्यसका कारण मृत्यु बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी भएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताए।

कैलालीमा बिहीबारदेखि लकडाउन लागू गर्ने तयारी

यता, कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी असोक कुमार भण्डारीले कञ्चनपुरमा पनि बिहिवारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको बताए। यसअघि कञ्चनपुर र कैलालीमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म घर बाहिर निस्किन प्रतिबन्ध लगाइएको थियो।

वैशाख १६ गते बिहीबार बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो। सो अवधिमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन प्रशासनले आग्रह गरेको छ। निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक सबै सवारी साधन बन्द रहने छन्।

अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्जन्य पदार्थ बोकेको सवारी, बैंक तथा बित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइशोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुने छन्।

खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीका पसल बाहेक सबै पसल बन्द रहने छन्। खाद्य सामाग्रीका पसलहरु बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्रै खोल्न पाइने छ। सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भिडभाड हुने स्थान बन्द रहने छन्।

विवाह व्रतबन्धको हकमा जिल्ला प्रशासनबाट पूर्व स्वीकृति लिएर स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १५ जनासम्म मात्रै भेला हुन पाउने छन्।

यस्तै नेपाल सरकारका कर्मचारी, बैंक बित्तीय संस्था तथा अन्य अत्यावश्यक कार्यालयका कर्मचारीले कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन्।

पत्रकारको हकमा भने सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .