पोखरा ३२ मा ‘राजाको चौतारा’ नामक एक चौतारो छ। चलनचल्तीको भाषामा लेखनाथको ब्रह्मरुपा माविको प्राङ्गणमा रहेको राजाको चौतारोलाई २०६२/०६३ को जनआन्दोलनपछि ‘जनताको चौतारो’ भन्न थालियो।
तर, मुखमा झुण्डिएको नाम किन हराउँथ्यो र ? चौतारो नै नभए पनि स्थानीयले सो ठाउँलाई राजाको चौतारो भन्न छाडेनन्।
त्यसो त, पोखराकै पृथ्वीचोकलाई शहीद लखनचोक र महेन्द्रपुललाई भीमसेनचोकको नाम दिइए पनि जनताले खासै रुचाएनन्।
कुनैबेलाको हुलाकी राजमार्गमै रहेको छ, यो चौतारो। संस्कृतिविद प्राध्यापक डाक्टर जगमान गुरुङका अनुसार पूर्व–पश्चिम राजमार्गमा पर्ने यो चौतारो हुँदै पश्चिमतिर काठमाडौं,जुम्ला र काँगडासम्मको लस्कर चल्थ्यो।
हालको तनहूँको भिमादतिर जाने हुलाकी बाटो पनि यही थियो।
‘हुलाकीहरु यही चौतारोमा बसेर हुलाक जाँच्थे र चिठीहरु साटासाट गर्थे’, उनले भने,‘तत्कालीन कास्कीका राजा शिव शाहको पालामा यहाँको मालमूलमा १२ जना राजाको भेट हुँदाको सम्झनामा राजाको चौतारो बनेको हो।’
उनका अनुसार सो सम्झौतामा आठटीकाका आठ राजा तथा तनहुँ, रिसिङ, घिरिङ र पर्वतका गरी बाह्र राजा हुन् भन्ने बुझिन्छ।
‘भीरकोट, गह्रौं र ढोर यी तीन खान राज्य र नुवाकोट, सतौं, कास्की, लमजुङ र गोरखा यी पाँच शाह राज्यलाई समुच्चमा आठटीका भनिन्छ’, उनले भने,‘यी बाह्र राजाहरूले कास्कीको मालमूलमा भेटेर सम्मेलन गरी आपसमा लडाइँ भिडाइँ नगर्ने, आआफ्नो साँध सीमानामा मिलेर बस्ने, आपसमा बिहेबारी गर्ने शान्ति सम्झौताको सन्धि गरेका थिए।’
कुनैबेला त्यहाँ समीको रुख थियो रे ! देशमा राजा छैनन्। राजाको चौतारो छ तर चौतारो रित्तो छ। चौतारो रित्तो भएको जगमानलाई जचेन।
उनले स्थानीयबासीलाई चौतारोको ऐतिहासिकता बताए। पोखरा महानगरपालिका, वडा कार्यालय, स्थानीय चौतारी युवा क्लव, आदर्श आमा समूह र स्थानीयवासीहरु चौतारो पुनः निर्माणको लागि तयार भए।
त्यही चौतारोको बिहीबार शिलान्यास भएको छ। राजासँग जोडिएको यो चौतारोको नेपाली सेनाको भगवती दल गणले निर्माण गर्ने भएको छ।
भगवती दल गण फूलबारीका प्रमुख सेनानी दिवाकर कार्कीले भूमिपूजनसहित चौतारोको शिलान्यास गरेका छन्।
प्राध्यापक डाक्टर जगमानका अनुसार राजाको चौतारोमा एक वर्षभित्र चौताराको पुनः निर्माण गरी एकवर्ष भित्रमा ऐतिहासिक राजाहरुको झल्को आउने शालिक स्तम्भ, समीको रुख, चौतारोको एक छेउमा पानीसहितको माटोको घैंटो, प्रतीक्षालय, तलाऊ र बगैंचा बनाउने योजना रहेको छ।
उनका अनुसार चौतारोलाई शान्ति संझौता र सह–अस्तित्वको केन्द्रका रुपमा विकास गराइने छ।
नेपाली सेनाले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माता मानेको छ भने पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउँदै आएको छ।
गएको पुस १८ देखि २७ गतेसम्म सेनाले एकता दिवसका विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको थियो।

प्रतिक्रिया