समाज


राष्ट्रिय सम्मानका साथ दीक्षितको अन्त्येष्टि

राष्ट्रिय सम्मानका साथ दीक्षितको अन्त्येष्टि

नेपालखबर
साउन ३०, २०७६ बिहिबार ९:४६,

वरिष्ठ साहित्यकार स्व मदनमणि दीक्षितको पशुपति आर्यघाटमा आज अपराह्न अन्त्येष्टि गरिएको छ। उनको राष्ट्रिय सम्मानका साथ अन्येष्टि गरिएको हो। नेपाल प्रहरीको एक टुकडीले उनलाई राष्ट्रिय सम्मान दिएको थियो।

स्व दीक्षितलाई उनका छोरा विनोदले दागबत्ती दिएका थिए। उनीप्रति श्रद्धाञ्जलि दिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णुप्रसाद पौडेल, नेता वामदेव गौतम, नेपाल प्रज्ञा– प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायत आर्यघाट गएका थिए।

यसअघि उनको शव श्रद्धाञ्जलिका लागि उनको निवास कालिकास्थानमा राखिएको थियो। निवासमा श्रद्धाञ्जली व्यक्त गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पुगेका थिए।

निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका दीक्षितलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो। निवासमा शौचालय जाँदा बेहोश भएका ९७ वर्षीय दीक्षितलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए। उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो।

दीक्षितका ‘माधवी’, ‘ऋग्वेदः केही प्रमुख सुक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन्। नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति उनले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका थिए। नेपाली पत्रकारिता क्षेत्रमा पनि उनको विशिष्ट योगदान छ। उनले ‘समीक्षा’, ‘आजकाल’लगायत साप्ताहिक पत्रिका सम्पादन गरेका थिए। उनको जन्म १९७९ फागुन ६ गते काठमाडौँको गैरीधारामा भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad