स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यन्त जरुरी काम नपरी घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ।
मन्त्रालयद्वारा आयोजित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले हरेक चार दिनमा कोरोना संक्रमण दोब्बर भएको बताउँदै अन्यन्त जरुरी कामबाहेक घरमै बस्न आग्रह गरे।
उनले सभा, भेला, मिटिङ र जात्रा आयोजना नगर्न पनि आग्रह गरे। स्वास्थ्य संरचनाहरुले धान्नै नसक्ने अवस्था आउनु अगाडिनै सबै जनाले सावधानी अपनाउन उनले आग्रह गरे।
'ठूला सहरहरुमा कोरोना बढिरहेको छ। व्यक्तिग तथा पारिवारिक स्तरबाट यो महामारी रोकथामका लागि प्रयास गर्नु पर्छ', उनले भने, 'थाहा पाइपाइ भिडमा जाने, केही हुँदैन भनेर विवाह, भोज भतेर, ब्रतबन्धमा भिड जम्मा गर्ने वा सरिक हुने, मास्क नलगाइ सार्वजनिक स्थलमा हिँड्ने जस्ता असावधानीबाट संक्रमण दिनहुँ फैलिँदै गइरहेको छ।'
उनले सबैलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरे। सबै जनाले मास्कको प्रयोग गर्दा संयोगले कोराना संक्रमितसँगै परे पनि मास्कले थुकको छिटा रोक्ने र संक्रमणबाट बच्न सकिने गौतमले प्रस्ट्याए।
कोरोनाबाट हुने क्षति कम गर्न सबैका साझा प्रयास आवश्यक रहेको उनको भनाई छद।

प्रतिक्रिया