समाज


कन्सुलर सेवा विभागमा लिखत प्रमाणीकरणको नयाँ व्यवस्था

कन्सुलर सेवा विभागमा लिखत प्रमाणीकरणको नयाँ व्यवस्था

नेपालखबर
बैशाख ८, २०७८ बुधबार ८:५२,

कन्सुलर सेवा विभागले लिखतहरूको प्रमाणीकरणका लागि सङ्केत नम्बरसहितको फाराम वितरण प्रारम्भ गरेको छ।

कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सरकारको गत सोमबारको निर्णयअनुसार विभागले आजदेखि त्यस्तो व्यवस्था गरेको हो।

विभाग परिसरमा सेवाग्राहीको भीड हुन नदिन तथा सहजरुपमा सेवा प्रवाह गर्न विभागले एकपटकमा २५ जना सेवाग्राहीलाई सङ्केत नम्बरसहितको फाराम वितरण गरी त्यसैअनुसार उनीहरूलाई प्रमाणीकरणका निम्ति अनुमति दिने व्यवस्था मिलाइएको विभागका निर्देशक धनबहादुर ओलीले बताए।

यही वैशाख १२ गतेदेखि प्रमाणीकरणको समय बिहान ८ बजेदेखि अपराह्न ५ बजेसम्म निर्धारण गरिएको छ।

सङ्केत नम्बर पाएका सेवाग्राहीलाई आफ्नो नम्बरअनुसार विभागमा उपस्थित हुने व्यवस्था मिलाइएको उनले बताए। सेवाग्राहीलाई सङ्केत नम्बर हरेक दिन बिहान ८ देखि २ बजेसम्म उपलब्ध गराइनेछ।

नेपाल प्रहरीबाट जारी हुने प्रहरी प्रतिवेदन बिना प्रमाणीकरण पेश गर्न सकिने व्यवस्था विभागले गत जेठ १८ गते काठमाडौँस्थित विदेशी नियोगहरूलाई पत्राचार गरेर मिलाइसकेकाले प्रतिवेदन प्रमाणीकरणका निम्ति विभागमा आवेदन गर्नुनपर्ने तर उक्त प्रतिवेदन निवेदक स्वयंले ‘अनलाइन’ बाटै रङ्गीनप्रति छापेर नियोगमा बुझाउनुपर्ने निर्देशक ओलीले बताए।

सेवाग्राहीले वैदेशिक रोजगारीमा जानका निम्ति प्रहरी प्रतिवेदन प्रमाणीकरण गराउनुपर्ने भएमा सम्बन्धित वैदेशिक रोजगार व्यवसायीमार्फत पठाउन सकिने प्रबन्ध गरिएकाले विभागले अतिआवश्यक भएमा मात्र स्वयं विभागमा उपस्थित भई दस्तावेज प्रमाणित गराउन आग्रह गरेको छ।

विदेशस्थित नेपाली नियोगमा प्रहरी प्रतिवेदन पेश गर्दा विभागबाट प्रमाणीकरण गर्नुनपर्ने व्यवस्था पनि मिलाइएको जनाइएको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad