विद्युतीय सञ्चारमाध्यमलाई उद्योगको रुपमा मान्यता दिन र विद्युत् महसुलमा सहुलियत दिन पर्वतका रेडियोका सञ्चालकहरुले माग गरेका छन्।
जिल्लामा सञ्चालित सात रेडियोका सञ्चालकले जिल्ला प्रशासन कार्यालय र नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण शाखामार्फत नेपाल विद्युत् प्राधिकरण महसुल निर्धारण आयोग काठमाडौँसमक्ष महसुलमा सहुलियतको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन्।
विद्युतीय सञ्चारमाध्यम सेवामूलक उद्योगको रुपमा स्थापित भई नागरिकहरुलाई सूचना दिन र ठूलो सङ्ख्यामा रोजगारीको अवसर दिइरहेकाले राज्यले सञ्चारमाध्यमलाई सहुलियत दिनुपर्ने उनीहरुको माग थियो। विद्युत् उपभोग गरेवापत प्रतियुनिट रु १२ का दरले महसुल तिर्दै आएका रेडियो स्टेशनहरुले उद्योगसरह महसुल कायम गरी राहात दिन सरकारको ध्यानाकर्षण गराएको बताए।
पञ्चासे एफएम, रेडियो शालिग्राम, रेडियो सत्यवाणी, रेडियो पर्वत, रेडियो दिदीबहिनी, रेडियो कुसुम, र रेडियो समृद्ध नेपालका रेडियोका अध्यक्ष र स्टेसन म्यानेजरहरुले संयुक्तरूपमा हस्ताक्षर गरी ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल र विद्युत् वितरण केन्द्रका भोजराज बराललाई बझाएका हुन्।
उक्त माग कार्यान्वयन भए मासिकरूपमा ठूलो रकम रेडियोका लागि बचत हुने भएको छ। अहिले उद्योग प्रतिष्ठानलाई प्राधिकरणले सात रुपैयाँ २० पैसामा विद्युत् उपलब्ध गराउँदै आएको छ। नेपालमै पहिलोपटक पर्वतबाट यस्तो माग गरिएको र यो माग सम्बोधन भएमा मुलुकभरका विद्युतीय सञ्चारमाध्यम लाभान्वित हुने पञ्चासे एफएमका स्टेसन म्यानेजर लक्ष्मण सापकोटाले बताए। साथै यसमा दबाब सिर्जना गर्न सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराव र व्रोडकाष्टिङ एशोसिएशन अफ नेपाल बानलाई पनि अनुरोध गरिएको रेडियो सत्यवाणीका अध्यक्ष हरि न्यौपानेले जानकारी दिए। रासस

प्रतिक्रिया