विद्रोही जिहादी समूहको लगातारको आक्रमणका कारण नाइजेरियामा ६५ हजार मानिस विस्थापित भएका छन् । देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने दमासाकबाट उनीहरु विस्थापित भएका संयुक्त राष्ट्रसंघीय निकायका अधिकारीहरूले जानकारी दिएका छन् ।
स्वघोषित इस्लामिक स्टेटका लडाकूहरूले यही हप्ता मात्रै बोर्नो राज्यमा तीन पटक आक्रमण गरेका थिए । उनीहरूले सुरक्षाकर्मीलाई आक्रमण गर्ने, घर तथा राष्ट्रसंघीय कार्यालयहरूमा आगजनी गर्ने गरेका छन्। यस क्रममा कम्तीमा १२ जनाको हत्या भएको छ।
नाइजेरियामा सबैभन्दा पछिल्लो हिंसात्मक घटना गत बुधबार भएको थियो । उक्त घटनामा उनीहरूले सुरक्षाकर्मीमाथि व्यापक आक्रमण गरेका थिए । ‘सबैभन्दा पछिल्लो आक्रमणको घटना यही अप्रिल १४ तारिखका दिन भएको थियो, यो घटना पछिल्लो सात दिन भित्र भएको तेस्रो घटना थियो,’ संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालयका प्रवक्ता बाबार बालोचले भने।
उनले गाउँका झण्डै ८० प्रतिशत मानिस आन्तरिक रूपमा विस्थापित भएको पत्रकारहरूलाई जानकारी दिए। बस्दै आएको ठाउँमा बस्न नसकेर विस्थापित भएकाहरू क्षेत्रीय राजधानी मैदुगुरी र त्यस वरपरका अन्य ठाउँमा गएका छन्।
नाइजेरियाको वोर्नो प्रदेशमा मानिसहरुलाई असुरक्षासँगै धेरै चुनौतीहरू बढ्दै गएपछि उनीहरु विस्थापित हुन बाध्य भएका हुन्। आक्रमणकारीहरूका कारण धेरै मानिसले अस्थायी रुपमा विस्थापित हुनुको विकल्प नरहेको अधिकारीहरुले जनाएका छन्। एजेन्सी

प्रतिक्रिया