आज (शुक्रबार) पनि काठमाडौं उपत्यकासहित देशैभर ठूलो हावाहुरीको सम्भावना रहेकाले सबैलाई सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले शुक्रबार बिहान नेपालखबरसँगको कुराकानीमा आज (शुक्रबार) र भोलि (शनिबार) दुई दिन हिजोको जस्तै अझ देशैभर हावाहुरीको सम्भावना भएको बताइन्।
उनका अनुसार हिजो सुदूरपश्चिम, गण्डकी, बागमती, प्रदेश १ मा ठूलो हावाहुरी आएको थियो। तराई क्षेत्र र कर्णाली प्रदेशमा पनि हावाहुरी त आएको थियो तर थोरै समयका लागि। आज भने देशैभर हावाहुरीको सम्भावना रहेको उनको भनाइ छ।
‘अपराह्नपछि देशैभर ठूलो हावाहुरीको सम्भावना छ, त्यसैले बाहिरफेर हिँड्नुभएको छ वा यात्रामा हुनुहुन्छ भने सजग रहनुहोला,’ उनले भनिन्।
वरिष्ठ मौसमविद् मानन्धरका अनुसार हिजो दिउँसो ३/४ बजे सुरु भएको हुन्डरी राति १० बजेबाट मात्र मत्थर भएको थियो।
‘आज पनि लगभग त्यही समयमा हावाहुरी/चट्याङको सम्भावना देखिन्छ,’ उनले भनिन्। तर सम्भावना भने अपराह्नपछि नै देखिएको उनले बताइन्। उनका अनुसार अपराह्न भन्नाले कार्यालय समय हो।
अहिले प्रि–मनसुन सिजन भएकाले हावाहुरी/चट्याङ यसैगरी अचानक हुने उनले बताइन्।
हिजो हावाहुरी अएको भए पनि ठूलो वर्षा कतै नभएको उनले बताइन्। जसले गर्दा देशका विभिन्न स्थानमा लागेको डढेलो निभ्नेगरी पानी नपरेसम्म वायु प्रदूषण घट्ने सम्भावना भने नदेखिएको वरिष्ठ मौसमविद् मानन्धरले बताइन।
अरू दुई दिन देशभर ठूलो हावाहुरी, मेघगर्जनको सम्भावना देखिए पनि हल्काबाहेक ठूलो वर्षाको सम्भावना भने नदेखिएको उनले बताइन्।
यसैबीच हिजो राति काठमाडौं उपत्यकामा निकै ठूलो हुन्डरी चलेको भए पनि अहिलेसम्म कुनै क्षतिको खबर नआएको काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता रमेश बस्नेतले जानकारी दिए।
शुक्रबार बिहान ७ बजेतिर एसपी बस्नेतले नेपालखबरसँग भने, ‘त्यस्तो कुनै क्षतिको खबर आएको छैन।’

प्रतिक्रिया