जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषध कारोबार गरेको आरोपमा एक कर्मचारीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय जुम्लामा कार्यरत २७ वर्षीय खरीदार लोकेन्द्र मल्ल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नवीन ओलीले जानकारी दिए।
उनीसँगै जुम्ला पातारासी गाउँपालिका–५ पटमारा गाउँ निवासी हाल चन्दननाथ नगरपालिकाको एयरपोर्टमा बस्दै आएका ३६ वर्षीय राजबहादुर बुढालाई पनि पक्राउ गरिएको प्रहरी निरीक्षक ओलीले बताए।
‘फोरेन्सिक ल्याबको परीक्षण र उनीहरुको अन्य वार्तालापको प्रमाणबाट मल्ल र बुढा दुवै जना लागुऔषध कारोबारमा संलग्न रहेको पाइएकाले पक्राउ गरेका हौँ’, उनले भने, ‘अहिले उनीहरु दुवैमाथि थप अनुसन्धान चलिरहेको छ।’ उनका अनुसार मल्ल र बुढाको अनुसन्धानले ठूला कारोबारीको नाम पनि खुल्ने देखिन्छ।
प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले खरिदार मल्लको गतिविधिका कारण उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जानकारी दिए। उनीसँगै समातिएका बुढासहित अहिलेसम्म लागुऔषधका नौ जना व्यक्तिलाई समातेर कारबाही गरिएको छ। रासस

प्रतिक्रिया