समाज


लयमा फर्किए विकास आयोजना

लयमा फर्किए विकास आयोजना

नेपालखबर
चैत २८, २०७७ शनिबार ६:१२,

म्याग्दीका विकास आयोजनाको निर्माण कार्य करीब एक वर्षपछि लयमा फर्किएको छ।

अधिकांश आयोजनाले पुरानै गतिमा निर्माण अघि बढाए पनि नदीजन्य निर्माण सामग्री र बजेटको अभाव चुनौती देखिएको छ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको जोखिम र रोकथामका लागि गत वर्षको चैतदेखि गरिएको लकडाउनले रोकिएका जिल्लाका विकास आयोजना पुरानै लयमा फर्किएका छन्।

आवतजावत बन्द र मजदूर घर गएपछि रोकिएका विकास आयोजना गत वर्षाको बाढीपहिराले प्रभावित भएका थिए। निर्माण व्यवसायी करीब एक वर्षपछि काममा फर्किएर निर्माणलाई तीव्रता दिएका छन्।

सडक, भवन, नदी नियन्त्रण, जलविद्युत्, प्रशारणलाइन, खानेपानी, सिँचाइ, मोटर गुड्ने र झोलुंगे पुल निर्माणको काम धमाधम भइरहेको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताए। ‘जनप्रतिनिधि, प्रशासन र सम्बद्ध निकायको ताकेता र दबाबले निर्माणले तीव्रता पाएको हो’, उनले भने, ‘आयोजना निर्माणका क्रममा उत्पन्न समस्याको पहिचान र समाधानका लागि समन्वय र सहजीकरण गरेका छौँ।’

दुई सय २० केभी क्षमताको दाना–कुश्मा सबस्टेशन र प्रशारणलाइन निर्माण सकिएको छ। नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना परीक्षण उत्पादनको तयारीमा छ।

म्याग्दीका मुख्य र सहायक सडकका विभिन्न १३ ठाउँमा पक्की पुल निर्माण भइरहेको छ। रघुगंगा गाउँपालिकाका तीन वडामा पर्ने दग्नाम, दर्मिजा, चिमखोला, कुइनेमंगलेका बस्ती सडक सञ्जालमा जोडिएका छन्। बाबियाचौर, कालीपुल र रत्नेचौरमा सडक कालोपत्रे भएको छ।

बेनी–जोमसोम, बेनी–दरवाङ, पोखरेबगर–चित्रे, गलेश्वर–पिप्ले–भगवती–बेग र दरवाङ–धारापानी सडक आयोजना निर्माण भएको छ। बेनी–जोमसोम सडकअन्तर्गत पर्ने दानाका कबिन तुलाचनले निर्माण व्यवसायीले थप मजदूर, उपकरण परिचालनका साथै निर्माण सामग्री जुटाउन जुटाउनुपर्ने बताए। ‘बर्खा शुरु नहुँदै काम सक्ने हिसाबले निर्माणलाई तीव्रता दिनुपर्छ’, उनले भने, ‘बर्खा शुरु भयो भने अधुरा आयोजनामा बाढी पहिरोले क्षति पु¥याउने खतरा हुन्छ। भएको लगानी र गरेको मेहनत खेर जान्छ।’

घारखोला, मिस्त्रीखोला, राहुघाट जलविद्युत् आयोजनाले लकडाउन र पहिरोको असहज अवस्थामा पनि काम रोकेका थिएनन्। डाडाखेत–राहुघाट प्रशारण लाइन तथा सबस्टेशन र मालढुंगा–बेनी सडक आयोजनाको ठेक्का सम्झौताको प्रक्रियामा छन्। मिलनचोक–रातोढुंगा सबस्टेशन र प्रशारण लाइन निर्माण पुनः रोकिएको छ। बेनी, दरवाङ र भुरुङ तातोपानी बजार संरक्षण आयोजना शुरु भएको छ।

संघीय, प्रदेश, स्थानीय तह, जिससका जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय र सरोकारवालाले रोकिएका विकास आयोजनालाई पुनः सञ्चालन गराउन अनुगमन, सहजीकरण तथा समन्वय गरेका छन्। गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत, सामाजिक विकासमन्त्री नरदेवी पुन, विकास तथा अर्थ समितिका सभापति दिपक कोइरालालगायतको फरकफरक टोलीले पछिल्लो १० दिनयता म्याग्दीका विकास आयोजनाको अनुगमन गरेका छन्।

खोपको विकाससँगै कोरोनाको जोखिम घटेपनि ढुंगा, गिट्टी र बालुवाको अभाव भएको र पर्याप्त बजेट विनियोजन नहुँदा समयमै भुक्तानी नपाउँदा समस्या भएको निर्माण व्यवसायी सोमनाथ थकालीले गुनासो गरे। ‘काम गर्ने ठाउँमा पर्खाल निर्माण गर्ने ढुंगा पाइँदैन्’, उनले भने, ‘खोलामा थुप्रिएको ढुंगा निकाल्न कडाइ गरिँदा मजदूर काम नपाएर बस्ने अवस्था छ।’ निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहलगायतले ठेक्का लिएको बेनी अस्पतालको ५० शैय्या क्षमताको भवन निर्माण भने अलपत्र परेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad