समाज


तीन देशको सीमा क्षेत्रमा चौरी महोत्सवको तयारी

तीन देशको सीमा क्षेत्रमा चौरी महोत्सवको तयारी

नेपालखबर
चैत २२, २०७७ आइतबार ४:११,

नयाँ वर्षको अवसरमा पाँचथरको फालेलुङ गाउँपालिका–४ स्थित तीनसिमानामा चौँरी महोत्सव हुने भएको छ । विगत चार वर्षयता आयोजना भइरहेको महोत्सव यस वर्ष पनि नेपाल–भारत सीमावर्ती क्षेत्र तीनसिमानामा आयोजना गर्न लागिएको हो।

फालेलुङ गाउँपालिकाको आर्थिक सहयोगमा दीपज्योति युवा क्लब, फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवद्र्धन संस्था र कञ्चनजङ्घाका चौँरीपालन तथा संरक्षण संस्थाले महोत्सवको आयोजना गरेका हुन्। महोसत्व २०७८ वैशाख १ गते सञ्चालन हुनेछ । महोत्सवमा चौँरीका विभिन्न प्रजाति तथा चौँरीसँग सम्बन्धित सामग्रीको प्रदर्शनी मुख्य आकर्षकको रुपमा रहने महोत्सव आयोजक समितिका सचिव सुनिल बान्तवाले जानकारी दिए।

परम्परागत चौँरीपालनलाई व्यवस्थित र व्यावसायिक बनाई दिगो आयस्रोत बनाउने, चौँरीमा आधारित पर्यापर्यटन प्रवद्र्धनमा सघाउ पुर्याउने, जैविक विविधता, दुर्लभ वनस्पति तथा जीवजन्तु संरक्षणको सन्देश दिने मुख्य उद्देश्यसहित महोत्सव आयोजना गरिएको बान्तवाले बताए।

महोत्सवमा चौँरी तथा याकका विभिन्न प्रजातिको प्रदर्शनी, चौँरीजन्य उत्पादनको प्रदर्शनी, भूटानबाट ल्याइएका याकको प्रदर्शनी, घोडाचढी तथा याकचढी मुख्य आकर्षण रहेका छन् । यस्तै उच्च पहाडी क्षेत्रमा पाइने जडीबुटीको प्रदर्शनी, स्थानीय संस्कारमा आधारित खाद्यान्नका परिकार, भेडाको ऊनबाट निर्मित सामग्री, गोठबासमा बसोबासजस्ता आकर्षण रहने छ।

तीनसिमानाबाट नेपाल, भारत र भूटानका हिमालको दृश्यावलोकन गर्न सकिन्छ भने यहाँ प्रसिद्ध तीर्थस्थल गोर्खेधामसमेत रहेको छ।

विगतमा फालेलुङ–४ चाररातेमा चौँरी महोत्सव आयोजना गर्ने गरिएको थियो तर चारराते पुग्न भारतीय बाटोको प्रयोग गर्नुपर्ने, सुरक्षाको अभावजस्ता कारणले महोत्सवस्थल तीनसिमाना निर्धारण गरिएको महोत्सव आयोजक समितिका अध्यक्ष एवं फालेलुङ–४ का वडाध्यक्ष विद्धिमान सावदेनले बताए।

तीनसिमाना नजिकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको, गोठबासको प्रबन्ध भएको, सहज सडक पहुँच भएको तथा तीनसिमानालाई पर्यटक गन्तव्य बनाउन प्रचारमा जोड दिनुपर्ने भएकाले यहाँ महोत्सव आयोजना गरिएको अध्यक्ष सावदेनको भनाइ छ । महोत्सव सम्पन्न गर्न मूल आयोजक समिति तथा चारवटा उपसमिति गठन गरिएको छ।

दुई दर्जनभन्दा बढी चौँरीगोठ रहेको फालेलुङको फालोट क्षेत्रमा पर्यटन विकास गर्ने, चौँरीजन्य सामग्रीको प्रचार र बजारको खोजी गर्ने, चौँरीपालनलाई व्यवस्थित गर्दै जैविक विविधताको संरक्षण गर्ने उद्देश्यसहित २०७४ बाट महोत्सव आयोजना गर्न थालिएको हो।

गत वर्ष भने कोभिड–१९ को महामारी तथा बन्दाबन्दीका कारण चौँरी महोत्सव हुन सकेन । हालसम्म कोरोना भाइरस सङ्क्रमणको अवस्था सामान्य रहेकाले प्रशासनको अनुमतिले यस वर्ष महोत्सव आयोजना गरिएको आयोजक समितिले जनाएको छ।

विगतका वर्षमा महोत्सव सम्पन्न गर्न इसिमोड, रिकास्ट, टिएमआइ, रेडपाण्डा नेटवर्कलगायत अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विभागीय सरकारी निकाय, जिल्लाका अन्य स्थानीय तहले समेत सहयोग गरेका थिए।

यस वर्ष गाउँपालिका र कञ्चनजङ्घा भू–परिधि संरक्षण तथा विकास पहलको लगानीमा महोत्सव आयोजना गरिएको हो । महोत्सवमा पाँचथरबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको आयोजक समितिले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad