समाज


सिसडोलबासीले अवरोध गरेपछि काठमाडौंको फोहोर व्यवस्थापनमा समस्या

सिसडोलबासीले अवरोध गरेपछि काठमाडौंको फोहोर व्यवस्थापनमा समस्या

नेपालखबर
चैत १८, २०७७ बुधबार ८:५५,

स्थानीयवासीले अवरोध गरेपछि काठमाडौँ उपत्यकाको फोहोर छ दिनदेखि व्यवस्थापन हुन सेकेको छैन।

विगत १३ वर्षदेखि उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटका बासिन्दाले विभिन्न माग राखी अवरोध गरेपछि उपत्यकाको फोहोर उठ्न नसकेको हो।

सिसडोलका स्थानीयवासीले यही चैत १३ गतेदेखि उपत्यकाको फोहोर लान अवरोध गरेका छन्। फोहोरमैला प्रभावित क्षेत्रका शिक्षक व्यवस्थापन संघर्ष समितिले प्रभावित क्षेत्रका विद्यालयमा ५१ वटा शिक्षक दरबन्दी थप गर्नुपर्ने र प्रभावित सबै विद्यार्थीका लागि माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गर्नुपर्ने जस्ता माग राखेर अवरोध गरेका हुन्।

यस विषयमा काठमाडौँ महानगरपालिकाले छलफल गरिहेको छ। ५१ जना शिक्षकको माग गरिएकामा २० जना शिक्षकको दरबन्दी दिने निर्णय कामपाले गरिसकेको छ। कामपा वातावरण विभागमा प्रमुख हरिकुमार श्रेष्ठका अनुसार फोहोर व्यवस्थापन कार्य सबैको साझा समस्या भएकाले यसमा सहयोग गरिदिन प्रभावित क्षेत्र सिसडोलका बासिन्दासँग आग्रह गरेका छन्।

विभागका प्रमुख हरिकुमार श्रेष्ठले भने, ‘स्थानीय बासिन्दाको माग सम्बन्धमा कामपा, नेपाल सरकार, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँग समन्वय गरी छलफल अघि बढाइसकेकाले माग पूरा हुने सकारात्मक अपेक्षा छ।’

अहिले साइटमा फोहोर लैजानसक्ने अवस्था नरहेकाले घर, पसल, उद्योग, कलकारखाना, व्यवसाय तथा कार्यालयका उत्पादकलाई स्रोतमै फोहोर वर्गीकरण गर्न विभागले अनुरोध गरेको छ। नकुहिनेलाई घरमै व्यवस्थापन गर्न र कुहिने फोहोरलाई संकलन गर्ने गाडी आएपछि पठाउन कामपाले आग्रह गरेको छ।

काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहोर विगत १३ वर्षदेखि नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटमा विसर्जन गरिँदै आएको छ। सुरुमा दुई वर्षका लागि भने पनि १३ वर्षसम्म निरन्तर फोहोर व्यवस्थापन गर्दा विभिन्न किसिमको समस्या आएको भन्दै स्थानीयवासीले अन्यत्र विकल्प खोज्नका लागि अवरोध गर्दै आएका छन्।

उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ। सबैभन्दा बढी कामपाबाट ५०० मेट्रिक टन फोहोर लगिने गरिएको छ। हरेक दिन उपत्यकाबाट निजी र कामपाको गरी २०० गाडी फोहोर लगिने गरिएको छ। दीर्घकालीन ल्यान्डफिल निर्माणका लागि सिसडोलभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा एक हजार ७०० रोपनी जग्गा अधिग्रहण गरिसकेको भए पनि निर्माणको काम सम्पन्न भएको छैन। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad