ad ad

समाज


सिसडोलमा फोहर फाल्न अवरोधपछि महानगरपालिकाले काठमाडौंवासीसँग गर्‍यो यस्तो अनुरोध

सिसडोलमा फोहर फाल्न अवरोधपछि महानगरपालिकाले काठमाडौंवासीसँग गर्‍यो यस्तो अनुरोध

नेपालखबर
चैत १६, २०७७ सोमबार १०:५४,

नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका स्थानीय वासिन्दाले काठमाडौं उपत्यकाको फोहोरमैला विसर्जनमा अवरोध गरेका छन्।

सिसडोलवासीले अवरोध गरेपछि काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सोमबार एक विज्ञप्ति निकाल्दै काठमाडौंवासीसँग सहयोगका लागि आग्रह गरेको छ।

महानगरपालिकाले उपत्यकावासीलाई आआफ्नो घर, पसल, कलकारखाना, व्यवसाय तथा कार्यालयबाट उत्सर्जन हुने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याई सकेसम्म कुहिने फोहोरलाई आफैँ व्यवस्थापन गर्न आग्रह गरेको छ।

‘नकुहिने फोहोरलाई सडकमा जथाभावी नफाल्नुहुन अनुरोध छ। काठमाडौँ महानगरपालिकाले फोहोर लिन आउने गाडीमा फोहोर पठाई फाहोर व्यवस्थापन कार्यमा सहयोग गरी कोभिड–१९ जोखिम न्युनिकरण कार्यमा सहयोग गर्न पनि आग्रह गरेको छ,’ महानगरपालिकाले भनेको छ।

काठमाडौँ उपत्यकाभित्र दैनिक उत्सर्जन हुने फोहोरमैलाको अन्तिम विसर्जन स्थल नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा–२ स्थित ल्याण्डफिल्ड साइटका प्रभावित वासिन्दाले विभिन्न माग राखी फोहोर व्यवस्थापन कार्यमा चैत १३ देखि अवरुद्ध गर्दै आएको महानगरपालिकाले जनाएको छ।

प्रभावित क्षेत्रका स्थानीयले चैत १३ गतेपछि सडकमा विरोध प्रदर्शन गर्दै फोहोर विसर्जन गर्न रोकेका छन्। 

स्थानीय वासिन्दाको माग सम्बन्धमा काठमाडौँ महानगरपालिकाले नेपाल सरकार, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँग समन्वय गरी छलफल अघि बढाइसकेकाले माग पूरा हुने सम्वन्धमा काठमाडौँ महानगरपालिका सकारात्मक रहेको उसले जनाएको छ।

‘हामी सिसडोलबासीका मागप्रति सकारात्मक छौँ । हाम्रो तर्फबाट उहाँहरुका माग सम्वोधनका लागि सम्वन्धित निकायसँग निरन्तर छलफल जारी राखेका छौँ। शिक्षामन्त्रालय पनि उहाँहरुका माग जति सक्दो छिटो सम्वोधन गर्न प्रयासरत छ,’ काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरि श्रेष्ठले बताएका छन्, ‘सिसडोलवासीलाई वार्ताका माध्ययमबाट समस्या समाधान गर्न आग्रह गरिरहेका छौँ। उहाँहरुले निरन्तर अवरोध गर्ने हो भने हामीले फोहोर विसर्जन कार्यका लागि थप कदम चाल्नुपर्ने हुनसक्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .