ad ad

समाज


कञ्चनपुर कारागारः भान्सा कोठादेखि खुला आकासमुनिसम्म कैदी

कञ्चनपुर कारागारः भान्सा कोठादेखि खुला आकासमुनिसम्म कैदी

गोकुल जोशी
साउन २८, २०७६ मंगलबार ६:१२,

क्षमताभन्दा बढी कैन्दीबन्दी हुँदा जिल्ला कारागार कञ्चनपुरको व्यवस्थापन अस्तव्यस्त बनेको छ। पछिल्लो समय अदालतमा मुद्दाको चाप बढ्दै गइरहेका बेला कारागारमा कैन्दीबन्दीहरुको संख्या ह्वात्तै बढेको छ। जसले गर्दा कारागार प्रशासनलाई कैन्दी व्यवस्थापन गर्न निकै समस्या भएको छ।

२०३२ सालमा स्थापना भएको सानो भवनमा अहिले कैदीबन्दी क्षमताभन्दा तीनगुणा बढी रहेको छ। कारागार व्यवस्थापन विभागका प्रमुख (जेलर) श्यामराज भट्टका अनुसार ९५ जना क्षमता रहेको कारागारमा ३ सय १५ जना कैदीहरु रहेका छन्।

उक्त कारागारमा ७० पुरुष र २५ महिला बन्दीको क्षमता रहेको छ। पुरुष कैदी क्षमताभन्दा साढे चारगुणा बढी रहेका छन्। ७० पुरुष कैदी क्षमता रहेकोमा जिल्ला कारागार कञ्चनपुरमा ३ सय ११ बन्दी रहेको जेलर भट्ट बताउँछन्। त्यस्तै २५ जना महिला कैदीबन्दी क्षमता रहेको कारगारमा हाल १४ कैदी रहेका छन्। कञ्चनपुर कारागारमा १५ जना भारतीय नागरिक समेत रहेका छन्। जबरजस्ती करणी मुद्दाका सबैभन्दा बढी ७८ जना र कर्तव्य ज्यान मुद्दाका ६८ जना कैदी कारागारमा रहेको तथ्यांक छ।

भान्सामा बस्दै कैदी
जिल्ला कारागार कञ्चनपुरमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको जेलर श्यामराज भट्टले बताए। बिगतको क्षमतालाई मध्यनजर गरेर निर्माण गरिएको भवनले कैदीको क्षमतालाई थेग्न नसकेपछि त्रिपालमुनि, ग्लारी, भान्सा कोठा तथा खुला आकासमुनि मैदानमा समेत कैदीहरुलाई राख्नु पर्ने अवस्था आएको उनले बताए।

‘अदालतमा मुद्दाको चाप बढ्दै गएपछि कारागारमा क्षमताभन्दा बढी कैदी हुँदा व्यवस्थापनमा समस्या भएको छ’, उनले भने, ‘बन्दी राख्ने भवन नभएर ग्यालरी, टनेल, त्रिपालमुनि, भान्सा कोठा र खुला आकासमुनिसमेत बन्दीलाई राख्नु परेको छ।’ हाल रेडक्रसले केही त्रिपाल सहयोग गरेकोले त्रिपालमुनि समेत बन्दीलाई राखिएको उनले बताए।

भवन जीर्ण, बस्न डराउछन् कैदी
कारागार भवन जीर्ण हुँदा राति बस्दा डराउनु पर्ने अवस्था रहेको कैदीबन्दीको गुनासो छ। पुरानो भवन जीर्ण हुँदा कैदीहरु डराउँदै बस्नु परेको गुनासो गर्छन्। कैदीबन्दीको संख्या दिनानुदिन बढ्दै गए पनि कारागारमा नयाँ संरचना थपिन सकेका छैन।

ठाउँको अभावमा कारागार प्रशासनको कार्यालय व्यवस्थापनमा पनि समस्या छ । कारागार प्रशासन रहेको भवन पनि वर्षामा चुहिने गरेको कर्मचारीहरू बताउँछन्।

ठाउँको अभावमा खानपिन, सुत्न र शौचालयको निकै समस्या रहेको कैदीबन्दीहरूले गुनासो गरेका छन्। एउटै कोठामा कोचिएर सुत्नुपर्ने र शौचालयका लागि पनि लाइन लाग्नुपर्ने अवस्था रहेको एक कैदीले बताए। गर्मीमा अधिक गर्मी, जाडोमा अति जाडो र वर्षातमा भिज्नुपर्ने भएकाले कारागार सुधारगृह नभई यातनागृह बनेको उनीहरूको भनाइ छ। खानेपानी, शौचालयका लागि समेत लाइन लाग्नु पर्ने उनले गुनासो गरे।

जहिल्यै बजेट अभाव
जिल्ला कारागार कञ्चनपुरको अवस्था सुधारका लागि सरकारी पक्ष उदासिन देखिएको छ। सरकारी संयन्त्र कारागारको स्तरोन्नतिमा चुकेको स्थानीय बुद्धिजीवीहरु बताउँछन्। कारागार जस्तो संवेदनशील स्थानको स्तरोन्नतितर्फ सरकारी संयन्त्रले तदारुकता देखाउनुपर्ने अवस्थामा उक्त संयन्त्र आफ्नो जिम्मेवारी बोध नगरेको देखिन्छ।

बेला बेलामा सरकारी पक्षबाट कारागारको अनुगमन भएर स्तरोन्तिको आश्वासन आए पनि बजेट नै विनियोजन नगरेपछि आशा निराशामा परिणत हुने गरेको छ। तत्कालका लागि क्षमताभन्दा तेब्बर बढी कैदी रहेको कारागारमा नयाँ भवन आवश्यक रहेको छ। त्यसका लागि कारागार कार्यालयसंग बजेट नै छैन। बर्सेनी बजेट अभाव हुँदा कारागारको स्तरोन्नति हुन नसकेको जेलर भट्ट बताउँछन्।

‘विभिन्न पक्षसंग कारागारको अवस्था सुधारका लागि पहल गरिएको छ तर अन्तिममा अर्थ मन्त्रालयले नै हेर्दैन’, उनले भने, ‘जेलमा राख्ने काम गरियो तर यहाँ कहाँ राख्ने? कसरी राख्ने ? भन्ने विषयमा माथिबाट नै लापरबाही हुन्छ।’

कर्मचारीनै  छैनन्
यहाँको कारागारमा कैदीको तुलना धेरै कम कर्मचारी रहेको जेलर भट्ट बताउँछन्। ३ सय १५ जना कैदी रहेको जिल्ला कारागार कञ्चनपुरमा हाल ३० जना मात्रै कर्मचारी रहेको बताए। कैदीबन्दी अनुसार झण्डै ४० जना कर्मचारी हुनु पर्ने ठाउँमा मात्र ३० जना कर्मचारी रहेको जेलर भट्टको भनाइ छ। कैदी अनुसार नै कर्मचारी नहुँदा समस्या उत्पन्न भएको उनले बताए।

कैदीबन्दीलाई छालासम्बन्धी समस्या
यहाँका कैदीबन्दीहरुमा चर्मरोगको समस्या बढ्दो रुपमा रहेको पाइएको छ। उनीहरुमा दाद, लुतो लगायतका चर्मरोगको समस्या रहेको हो। केही दिन अगाडि गरिएको एक सय जनाको स्वास्थ्य परीक्षणमा उनीहरुमा छालासम्बन्धी विभिन्न समस्या देखिएको जेलर भट्ट बताउँछन्। एकै ठाउँमा धेरै जनाले सुत्नुपर्ने भएकाले एक जनाबाट अर्कोमा रोग सरेको बताइएको छ। हालसम्म एक जनाभन्दा बढी बन्दीमा चर्मरोगको समस्या देखिएको छ।

औषधी नै पाइदैन
कारागारमा क्षमताभन्दा बढी कैदी हुँदा कारागार भित्रबाट प्रदान गरिने स्वास्थ्य सेवा समेत प्रभावित भएका छन्। सरकारले कम बजेट दिने हुँदा औषधीको व्यवस्थापन गर्न समस्या भएको जेलर भट्ट बताउँछन्। प्रत्येक वर्ष झण्डै ३ लाख मात्र बजेट आउने र उक्त बजेटले सबैतिर बाँडफाँट गर्न अफ्ठ्यारो भएको छ। कारागाराभित्र कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिने तर सबै कैदीका लागि औषधी किन्न समस्या हुने उनले बताए।

नयाँ भवन आवश्यक
कारागारको भवन जीर्ण भएकाले कैदीबन्दीहरुका लागि नयाँ भवन बनाउन आवश्यक रहेको जेलर भट्ट बताउँछन्। क्षमताभन्दा कैदीबन्दीको संख्या बढ्दै गएकाले भौतिक संरचना निर्माण गर्न आवश्यक रहेको भनेर कारागार विभागसहित सम्बन्धित पटक–पटक ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको उनले बताए। कारागारलाई सुधारगृह जस्तै बनाउनका लागि कैदीका लागि हुनुपर्ने समय सदुपयोगका विभिन्न साधन स्रोतको अभाव रहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .